हामी सबैको पर्खाइमा रामारोशन

सागर रावल ३ कार्तिक २०८१ १४:०४
8
SHARES
हामी सबैको पर्खाइमा रामारोशन

अछाम जिल्लाको अस्तित्व बोकेका थुप्रै पर्यटकीय स्थल जीर्ण छन्। तिनैमध्ये एक हो रामारोशन। रामारोशन प्राकृतिक सौन्दर्य, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैँचा मानिन्छ। रामारोशनको नामकरणका विषयमा तथ्य प्रमाण भेटिएको त छैन। त्यसैले लेखकहरूले आआफ्नै शैलीमा व्याख्या गर्ने गरेका छन्। महादेव र पार्वतीको वासस्थानका रूपले चिनिने यो क्षेत्रमा प्राचीन समयमा रमा र रोशन नाम भएका आमा र छोरा बस्थे भन्ने किंवदन्ती छ।

कालान्तरमा रमा र रोशन आमाछोराको नामबाटै  रामारोशन नाम रहन गएको स्थानीय बूढापाकाहरू बताउँछन्। उक्त स्थानका बारेमा स्थानीयले फरक तरिकाले व्याख्या पनि गरेका छन्। यो लोभलाग्दो ठाउँको उत्पत्ति र नामकरणका विषयमा अनेक मत भए पनि यहाँको सौन्दर्यचाहिँ स्वर्गको टुक्राजस्तै रहेको अनुभूति हुन्छ।

कसैले यो ठाउँलाई प्रकृतिकी रानी भन्दछन् भने कसैले यसलाई प्रकृतिको स्वर्ग भन्दछन्। दूर्गम पहाडी खोचभित्र रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशन क्षेत्रभित्र विभिन्न ताल, मैदान, पाटन, हरियाली जंगल, पहाडी चुचुरा, जंगली जनावर, चराचुरुंगी, फूल, विभिन्न खालका जडिबुटी, झरनाहरू,  ठूलठूला ढुंगा र गुफा छन्।

अछामको रामारोशन क्षेत्र सुदुरपश्चिमको प्रमुख पर्यटकीय स्थल रूपमा रहेको छ। समुद्री  सतहबाट २,५४६ मिटर उचाइमा रहेको यहाँ सानाठूला गरी १२ वटा ताल छन्। १८ वटा रमणीय मैदान छन्। स्थानीय भाषामा यसलाई बाह्र वण्ड अठार खण्ड भन्ने गरिन्छ। १२ वटा तालमध्ये सबैभन्दा ठूलो ताल जिगाले ताल हो।  सबैभन्दा सानो ताल ताउने ताल हो। यो लगभग पुरिने अवस्थामा छ। यस विषयमा स्थानीय अथवा सुदूरपश्चिम सरकारको विशेष ध्यानाकर्षण होस्।

जिगाले तालका वरिपरि केही दूरीमा बाटुल्ला, लामीदह, लिस्से डाली, ताउले, तल्लो धाउने, माथिल्लो धाउने, गाग्रे ताल, डौठे खाल, दल्याना, रामे ताल र गेराह ताल पर्दछन्। त्यसैगरी अठार खण्डमा किनिमिनी खण्ड, रोशन टोउका खण्ड, रोशन जिगाले खण्ड, रोशन बागफाल खण्ड, रामे रोशन खण्ड, दल्याना रामे खण्ड, पातल दल्याना खण्ड, गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड, चिल्फु गाग्रा खण्ड छन्।

बागफल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, नेटाकोट साकोट खण्ड, रामे रगाडे खण्ड, पिनालेखी टोट्के खण्ड, पातल दल्याना खण्ड, गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड यहाँका सुन्दर ठाउँ हुन्। चिल्फु गाग्रा खण्ड, बागफाल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, चिर्किटे खालापोखर खण्ड, नेटाकोट साकोट खण्ड, रामे रगाडे खण्ड, किनिमिनि सिदुरे खण्ड र पिनालेखी टोट्के खण्ड देख्दा नजिकै बसिरहूजस्तो लाग्छ।

रामारोशनमा ठूलासाना गरी दर्जनौँ मैदान छन्। तिनमा रोशन मैदान, किनिमिनी मैदान, सिन्दुरे मैदान, बागफाल मैदान, रामे मैदान, रँगाडे, दनाडी, भिउमोरा, चिल्फु, गादो पाड्ने र सुइडेनी गडो  निकै सुन्दर छन्। ताल र मैदानको जस्तै झरनाले पनि यहाँको  प्रकृितलाई झन् सिँगारेको छ।  बांगे छहरा, दल्याना छहरा, किनिमिनी फिस्साने छहरा, औलाघाट कैलाशखोला छहरा, रामारोशन गगन छहरा, वडाचामल छहर र जैदेखोला दुदुल्लेबोट छहरा यहाँका झरना हुन्।

पहाडी शिखरले वरिपरिको दृश्यलाई रमणीय बनाएका छन्। चका डाँडा, डडिल्ला, गेली हाल्ने गडा, बगफाल, ददानी, चिन्डेनी, थेप्चे गोरेकोट, अमरपाटा, नदाई र सर्गको घडी प्रमुख पहाडी चुचुरा हुन्।

रामारोशन धार्मिक हिसाबले पनि महत्त्व बोकेको ठाउँ हो। यहाँ कालिका देवी, नन्दादेवी, जाल्पादेवी, नीलकण्ठ, मस्टो, मालिका देवी, गुण लानी, बलवान बाबछाला आदि मन्दिर छन्। त्यसैले यी देवीदेवताको सुन्दर प्रकृतिमा रमाउँदै ससाना देवलहरूसँग लुटुपुटु गर्न पाउँदा केही क्षणका लागि भए पनि मानसिक सन्तुष्टि उत्पन्न हुन्छ।

रामारोशन क्षेत्रमा विभिन्न किसिममा जडिबुटी पनि पाइन्छन्। ती जडिबुटी हाम्रो जीवनका लगि सञ्जीवनीजस्तै हुन्। जडिबुटीको बोटबिरुवा नजिकै बस्दा पनि शरीर र मन स्वस्थ हुने विश्वास स्थानीयको छ। लोठ सल्ला, सतुवा, दालचिनी, पाँचऔँले, सिलाजित, बाँजखोटो, बोजो, पदमचाल, कटुकी, सुगन्धवाल, बिसमारो, गदाल्नुलगायतका जडिबुटी यहाँ पाइन्छन्।

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय रामारोशनमा रहरलाग्दा जमिनका फाँट, मनमोहक ताल, अनेक थरीका फूलहरूले हामीलाई प्रतीक्षा गरिरहेका छन्। राष्ट्रिय चरा डाँफे, मुनाल, कस्तुरी मृग तथा अन्य विभिन्न जनावरहरूको बासस्थान यस जिल्लाको पर्यटन विकासको स्तम्भ हो। सरकारी निकायको यहाँ आँखा परेको छैन। प्राकृतिक रुपमै सुन्दर रामारोशन क्षेत्रमा अझै नेपाल सरकारले चासो दिने हो भने पो पर्यटकीय स्थानको काँचुली फेर्न धेरै समय लाग्दैन।

प्रकाशित: ३ कार्तिक २०८१ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =