दसैँमा चार फिल्मको भिडन्त, कुनले मार्ला बाजी?

सुस्मिता बजगाईं २३ असोज २०८१ ८:४७
48
SHARES
दसैँमा चार फिल्मको भिडन्त, कुनले मार्ला बाजी?

काठमाडौँ- मनोरञ्जन क्षेत्रका लागि फिल्म प्रदर्शन गर्ने मुख्य समय मानिन्छ दसैँ। लामो बिदा र व्यापार राम्रो हुने भएकाले एकभन्दा बढी फिल्मबीच प्रतिस्पर्धा हुन्छ। यस वर्ष दसैँ लक्षित चार फिल्म प्रदर्शनमा छन्। तीन फिल्म ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ असोज २४ अर्थात् फूलपातीदेखि प्रदर्शन हुँदैछ भने घटस्थापनादेखि फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन भइरहेको छ।

‘बेहुली फ्रम मेघौली’

विवाहको संस्कृतिमा बनेको फिल्म हो ‘बेहुली फ्रम मेघौली’। फिल्म आकाश बराल र साजन काफ्लेको लेखन र निर्देशनमा बनेको छ। यो उनीहरूको डेब्यु निर्देशन हो। फिल्मको मुख्य भूमिकामा छिन् अभिनेत्री स्वस्तिमा खड्का। फिल्ममा मीना (स्वस्तिमा) उमेरले ३० पुग्न लागेकी छन्। उनको विवाह भएको छैन। उनका प्रेमी विदेशमा छन्। मीना विवाहकै लागि समाज र आफन्तको वचन सहँदै प्रेमी कुरेर बसेकी छिन्। उनको प्रेमीको भूमिकामा छन् निरज अर्थात् निश्चल बस्नेत।

विवाह गर्ने वचन दिएर  विदेश गएको निरज नेपाल फर्किन्छन्। तर  मीनासँग विवाह नगर्ने निर्णय सुनाउँछन्। सात वर्षदेखि कुरेको प्रेमीको जवाफ सुनेर आहत बनेकी मीनाले उसलाई पाउन गर्ने अनेक कोसिस गर्छिन्। परिवार भने मीनालाई अर्को केटा खोजेर विवाह गर्न प्रयास गरिरहेका हुन्छन्। मीनाको विवाह कोसँग होला त? निरजले किन बिहे गर्न इन्कार गर्‍यो भन्ने थाहा पाउन हलसम्म पुग्नुपर्ने हुन्छ।

३० वर्षकी छोरीका लागि योग्य वर खोज्न परिवारले गर्नुपरेको संघर्ष, मायामा अन्धो भएकी मीना, समाज र आफन्तबाट दिने दबाब वरिपरि नै फिल्म सकिएको छ। फिल्म १ सय २९ मिनेट अर्थात् दुई घण्टा नौ मिनेटको छ।

सामाजिक कथामा बनेको फिल्ममा उमेर पुगेको भन्दै महिलालाई विवाहका लागि परिवार र समाजले दिने दबाबलाई रमाइलो ढंगले फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, टीका पहारी, लुनिभा तुलाधर, रामबाबु रेग्मीलगायतको जीवन्त अभिनय छ।

फिल्ममा समावेश गरिएको ‘उडायो मन’ र ‘छड्के सलाम’ बोलको गीत पनि चर्चित बनेको छ। फिल्म निश्चल दम्पती (निश्चल बस्नेत र स्वस्तिमा खड्का) ले नै लगानी गरेका हुन्। फिल्म दुई करोड २५ लाख लागतमा बनेको निर्माण टिमको दाबी छ। फिल्म असोज १७ देखि हलमा प्रदर्शन भइरहेको छ।

छक्का पञ्जा ५

फिल्म ‘छक्का पञ्जा’को पाँचौँ शृ‌ंखला हो ‘छक्कापञ्जा ५’। सामाजिक र राजनीतिक व्य‌ंग्य  र राजाको विवाहको प्रसंग जोड्दै फरक कथावस्तुमा यसको शृंखला बन्दै आएको छ। यस वर्ष छक्का पञ्जा टिमले सरकारी कर्मचारी र भ्रष्टाचारलाई मुख्य विषयवस्तु बनाएको छ।

यसअघिको कथा भने बेरोजगारी र वैदेशिक रोजगार, देशको राजनीतिका विभिन्न आयाममा बनेको थियो। पाँचौँ शृंखलामा पनि दीपक राजाकै भूमिकामा छन्। उनी यसपटक घुस नखाने इमान्दार सरकारी कर्मचारी बनेका छन् र उनकै बिहेको लागि केटी खोज्ने संघर्ष।

बदलिँदो समयअनुसार फिल्मको कथाले बिहेपछि विदेश भासिने नेपालीको प्रचलन, गाउँमा एक्लिएका बाआमाको पीडालाई पनि छुन खोजेको छ। यस शृंखलामा समावेश फिल्मको ‘ब्रेक अप’ र ‘बिहे भाको छैन म’ गीत चर्चित बनेको छ।

फिल्म दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। फिल्ममा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्। सहायक भूमिकामा राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, हिउँकला गौतम, दमन रुपाखेती, लोकेन्द्र लेखक, निर्मल शर्मालगायत कलाकारको अभिनय छ। फिल्म करिब तीन करोड लगानीमा बनेको निर्माण टिमको दाबी छ।

ज्वाइँ साब

ज्वाइँको कथामा बनेको फिल्म हो ‘ज्वाइँ साब’। मुख्य भूमिकामा छन् जितु नेपाल र नीति शाह। सामाजिक र पारिवारिक कथामा बनेको फिल्मका निर्देशक वसन्त निरौला हुन्। फिल्मकी मुख्य महिला पात्र नीतिसँग बिहे गर्न केटाहरूले केकस्ता प्रतियोगितामा सहभागी भए र अन्तमा जितु कसरी योग्य बने भन्ने रोचक प्रसंग छ।

साथै बिहे गरेर केटीको घरमा भित्रिएका जितुले भोग्नुपरेको पीडा, संघर्ष र रोजागारीका लागि बिदेसिनुपरेको पीडासमेलताई रोमान्टिक र मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ। फिल्ममा सहायक भूमिकामा बुद्धि तामाङ, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङदेल, सन्दीप क्षेत्री, कविता आले, दीपक आचार्य  (काकु), कमलमणि नेपाल, राजेन्द्र नेपाली, शिवु पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ।

सविन अधिकारीको कथा रहेको फिल्मको पटकथा शंकर धितालले लेखेका हुन्। फिल्मको गीत ‘कसम बत्तीको’ निकै चर्चित बनेको छ। फिल्म साढे दुई करोडमा बनेको निर्माण टिमको दाबी छ।

१२ गाउँ

एक्सन–थ्रिलर कथामा बनेको फिल्म हो ‘१२ गाउँ’। फिल्ममा मुरलीधरको हैकम ध्वस्त पार्न गरिएको संघर्ष र नयाँ शक्तिको कथा छ। फिल्मका निर्देशक विराज भट्ट हुन्।

फिल्ममा मुख्य भूमिकामा डेब्यु कलाकार समीर भट्ट, सनिशा भट्टराई, न्यान्सी खड्कासहित निर्देशक विराज भट्ट, नरेन खड्का, दिया मास्के, भीष्म जोशी, सुलेमान शंकर (इकु), सन्तोष सरकार, स्टन्ट शिल्भालगायत कलाकारको अभिनय छ। निर्देशक तथा अभिनेता विराजकै कथा रहेको फिल्मको सन्तोष सरकारको संवाद तथा पटकथा छ। फिल्म करिब पाँच करोड लगानीमा बनेको निर्माण टिमको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =