 
                             
                                            चितवन- वृद्धवृद्धालाई वृद्धभत्ता रकम लिन सास्ती भएको छ। माछापुच्छ्रे बैंक कुरिनटारमा आइतबार बिहानै आइपुगेका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता बापत्को रकम प्राप्त गरिन्।
भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ। इच्छाकामना–३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिइन्। इच्छाकामना २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउँसो भत्ता रकम लिन पाएनन्।
इच्छाकामना–१ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताए। विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उनको भनाइ छ। सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने माग गरे।
इच्छाकामना–१ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताए। उनले भने,‘मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन।’
माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गरे। उनले भने,‘हामीले बैंकसम्म आउन नसक्नेलाई वडाको सिफारिसमा हकवालाले भत्ता रकम बुझ्न पाउने व्यवस्था गरेका छौँ, दसैँका बेला भएकाले सबै वृद्धवृद्धा एकैपटक आउँदा केही समस्या भएको हो।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 