अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

हिमाल प्रेस १९ असोज २०८१ २०:००
30
SHARES
अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

काठमाडौँ- अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो।

कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए ।

नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए । जसको उदाहरण बलुन नेपालमार्फत हट एयर बलुनमा उड्न पाउनु समेत रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे ।

लोकप्रिय नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन्। ूम यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छुू, उनले भनिन् ‌।

बलुन नेपाल प्रा लिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागेको हो।

क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । ‌कार्यक्रममा बलुनमा उड्न चाहने पर्यटकका लागि कम्पनीको आधिकारिक वेबसाइटमार्फत अग्रिम बुकिङ समेत खुला गरिएको छ ।

साथै गैर आवासीय नेपाली समाज ९एनआरएनए०बाट पनि यस कार्यक्रमको प्रवर्द्धन हुँदैछ। जसका लागि कम्पनीका निर्देशक समेत रहेका बेलायतका दीपककुमार श्रेष्ठ र रोबर्ट विश्वकर्माले समन्वय गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक सबिन महर्जनले जानकारी दिए ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । जसमा बेलुन नेपालको तर्फबाट ५ वटा हट एयर बलुन सञ्चालन गरिनेछ। स्पेन, फ्रान्स, अमेरिका, युके, लाटभिया, जर्मनी, लाओस, अस्ट्रिया, कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा देश सहभागी हुने गरी तयारी भइरहेको कम्पनीका निर्देशक बिबि ढकालले जानकारी दिए ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।

महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरूले अपेक्षा गरेको उनले बताए ।

कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिवल प्रभावकारी हुने उनको भनाइ छ।

महोत्सवमा बलुनभित्रै डिजे सेसन पनि रहनेछ जसलाई मुख्य आकर्षणको रूपमा समावेश गरिएको कम्पनीले जनाएको छ। रातिको समयमा पनि बलुन उडाएर बेलुन ग्लो लगायतका हट एयर बेलुनसम्बन्धी खेलमार्फत मनोरञ्जन दिलाइने कम्पनीले बताएको छ।

सन २०१८ बाट बेलुन नेपालले हट एयर बेलुन उडान सेवा पोखराबाट दिँदै आएको छ।

प्रकाशित: १९ असोज २०८१ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast