चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि

हिमाल प्रेस ९ असोज २०८१ २०:३५
14
SHARES
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि

वीरगञ्ज– चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ।

चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु. ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २०८०/८१ को सोही अवधिमा रु. ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने तीन सय छ वटा जिप, कार र भ्यान आयात भएको थियो।

आव २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा चार पाङ्ग्रे सवारी संख्याका आधारमा २४ दशमलव ८४ प्रतिशतले आयात घटेको हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको दुई महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको बताए।

‘गत आवको तुलनामा चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इलेक्ट्रिक सवारीसाधन दुवैको आयात घटेको छ,’ उनले भने, ‘इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज भन्सार नाका भन्दा उत्तरी नाकाबाट धेरै भित्रिएको छ। यो नाकाहुँदै सवारीसाधनको समग्र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ।’

चालु आव २०८१/८२ को भदौ मसान्तसम्ममा रु. छ करोड एक लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन्। आव २०८०/८१ को सोही अवधिमा रु. १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए। गत आवको तुलनामा चालु आवमा छ दशमलव ९० प्रतिशतले आयात घटेको हो।

चालु आवको भदौ मसान्तसम्ममा रु. छ करोड दुई लाख २६ हजार मूल्यपर्ने २८ वटा ट्रक, मिनीट्रक आयात भएको छ। गत आवको सोही अवधिमा रु. १६ करोड ८० लाख ८१ हजार मूल्यपर्ने ६८ वटा ट्रक, मिनीट्रक आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा ट्रक र मिनीट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो।

चालु आवको दुई महिनामा आठ करोड दुई लाख ३२ हजार मूल्यपर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ। गत आवको सोही अवधिमा रु. नौ करोड ९३ लाख आठ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा ५५ दशमलव ८१ प्रतिशतले आयात घटेको छ।

चालु आवको भदौ मसान्तसम्ममा रु. १७ करोड २४ लाख चार हजार मूल्यपर्ने ७६ वटा मिनिबस र माइक्रोबस आयात भएको छ। गत आवको सोही अवधिमा रु सात करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनीबस र माइक्रोबस आयात भएको थियो।

चालु आवको दुई महिनामा गत आवको तुलनामा मिनिबस र माइक्रोबसको आयात एक २३ दशमलव ५३ प्रतिशतले बढेको छ।

चालु आवको सुरुवाती दुई महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुईपाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ। चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज भन्सार हुँदै रु. दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्यपर्ने रु १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएको छ।

गत आवको सोही अवधिमा रु. एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्यपर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएको थियो। गत आवको सोही अवधिको तुलनामा चालु आवमा मोटरसाइकलको आयात ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित: ९ असोज २०८१ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =