‘पर्यटक गाईडबुक लुम्बिनी’ तयार गरिदैं

विनोद परियार ४ असोज २०८१ १८:०३
46
SHARES
‘पर्यटक गाईडबुक लुम्बिनी’ तयार गरिदैं

लुम्बिनी– ‘पर्यटक गाईडबुक लुम्बिनी’ तयार पारी बृहत्तर लुम्बिनी क्षेत्रबारे एकिकृत सूचना दिइने भएको छ। बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको गृहनगर कपिलबस्तु, अस्तुधातु रहेको रामग्राम र मावली देवदहसहित आसपासका पर्यटकीय स्थलहरुको जानकारी समेटेर पर्यटक गाईड बुक प्रकाशन गर्न थालिएको हो।

आन्तरीक तथा बाह्य पर्यटकहरुलाई बृहत्तर लुम्बिनी क्षेत्रको पूर्ण जानकारी दिने र यस आसपासका पर्यटकीय स्थलको समेत जानकारी गराउँदा यसले पर्यटकको बसाई अवधी लम्बिने विश्वाससमेत गरिएको छ।

नेपाल पर्यटन बोर्डले यूएनडिपिसँगको सहकार्यमा सञ्चालित दिगो पर्यटन पुर्नउत्थान परियोजनाअन्तर्गत लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिकासँग समेत सहकार्य गरी ‘पर्यटकगाईड बुक लुम्बिनी’ प्रकाशनको अन्तिम तयारी गरिएको छ।

टुरगाईडहरुका लागि लक्षित गरी पर्यटक गाईड बुक लुम्बिनी प्रकाशनको अन्तिम तयारी गरिएको हो। बुद्धजन्मस्थल लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व, बुद्धको जीवनी र बुद्धको शिक्षा, कपिलबस्तु, रामग्राम र देवदहको ऐतिहासिक, पुरातात्विक महत्व तथा धार्मिक पक्षबारे बुकमा जानकारी समावेश गरिएको छ।

यसैगरी मुख्य सहरहरुबाट लुम्बिनीसम्मको दुरी, मौसमको अवस्था, नजिकका पर्यटकीयस्थल लगायतका जानकारी समेत बुकमा समावेश गरिएको नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक तथा परियोजनाका राष्ट्रिय संयोजक श्रद्धा श्रेष्ठले बताइन्।

उनले बृहत्तर लुम्बिनीको बारेमा एकैखालको सन्देश आन्तरीक र बाह्य पर्यटकहरुमाझ पुर्‍याउने उदेश्यले पर्यटक गाईड बुक तयार पारिएको जानकारी दिइन्। शुक्रबार लुम्बिनीमा बुकका विषयबस्तुका बारेमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजनसहितको उपस्थितीमा छलफल गरिएको छ।

पहिलोचरणमा मे महिनामा सरोकारवालाहरुसँग छलफल गरी विज्ञहरुले तयार पारेको बुकको मस्यौदामा थप छलफल गरी प्राप्त सुझावका आधारमा अन्तिम रुप दिईने श्रेष्ठले बताइन्।

पर्यटक गाईड बुकले लुम्बिनी आउने पर्यटकहरुले यसको पुरातात्विकसँगै धार्मिक महत्वका बारेमा पनि जानकारी लिँदा त्यसले लुम्बिनीको प्रवद्र्धनमा ठूलो योगदान गर्ने राजकीय बौद्ध विहार लुम्बिनीका प्रमुख भन्ते सागरधम्मले बताए। उनले लुम्बिनीसँगै भारतबाट आउने पर्यटकहरुलाई लक्षित गरी नजिका हिन्दुधर्मसँग जोडिएका पर्यटकीय क्षेत्रहरुको पनि जानकारी राखिने भएकाले यसले पर्यटकहरुलाई लोभ्याउने बताए।

छलफलमा सहभागीहरुले बुकले बृहत्तर लुम्बिनी क्षेत्रसँगै वरपरका पर्यटकीय स्थलहरुका बारेमा पनि उल्लेख गर्नुपर्ने सुझाव दिएका छन्। लुम्बिनी र बुद्धस्थलसँगै अरु प्राकृतिक र सांस्कृतिक पक्षलाई समेट्दा पर्यटकको बसाइअवधी लब्याउन सकिने सुझाव दिए। छलफलपछि लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरीजनले पर्यटकहरु सूचनाको अभावका कारण धेरै भ्रमण नगर्ने परिपाटी रहेकोमा पर्यटक गाईड बुकले त्यसलाई चिर्ने विश्वास व्यक्त गरिन्।

छलफलमा लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरीध्वज राईले सूचना पर्यटकका लागि अति आवश्यक हुने भन्दै अब लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सबै पक्ष एकताबद्ध हुनुपर्ने बताए। उनले गुणस्तरीय पर्यटक भित्र्याउनका लागि पर्यटन टुरगाईड बुकले सहयोग गर्ने बताउँदै अब होटल व्यवसायीदेखि सबै पक्षले गुणस्तर कायम राख्नुपर्नेमा जोड दिए।

यस्तै यूएनडिपि लुम्बिनी प्रदेशका प्रमुख सुदीप अर्यालले धार्मिक आस्थासँगै पुरातात्विक महत्वका बारेमा बुकले जानकारी दिने भएकाले यसले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग गर्ने बताए। नीजि क्षेत्रका होटल व्यवसायीहरुले समेत सूचनाको अभावमा कैयौं पर्यटकहरु लुम्बिनीको मायादेवीमात्रै भ्रमण गरेर जाने गरेको गुनासो गर्दै आएका छन्।

लुम्बिनी होटल एसोसिएशन संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले ढिलै भएपनि बृहत्तर लुम्बिनी क्षेत्रको बारेमा टुरगाईड बुक बन्न लागेकोमा खुशी व्यक्त गर्दै यसले पर्यटकहरुलाई आर्कषित गर्ने विश्वास व्यक्त गरे।

छलफलमा परामर्शदाता सौरभ थापा, नेपाल पर्यटन बोर्डका धर्मराज दवाडीले बुकको मस्यौदा प्रस्तुत गरी सुझाव माग गरेका थिए। कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्त, लुम्बिनी होटल व्यवसायी संघ नेपालका महासचिव पुरुषोत्तम पाण्डे, स्थानीय टुरगाईडहरुले सझुाव दिएका थिए।

टुरबुक नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरिनेछ।

प्रकाशित: ४ असोज २०८१ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =