कर्मचारी सञ्चय कोषलाई अर्थमन्त्रीका यस्ता सुझाव

हिमाल प्रेस २५ भदौ २०८१ १७:११
24
SHARES
कर्मचारी सञ्चय कोषलाई अर्थमन्त्रीका यस्ता सुझाव अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गरिरहेको भए पनि त्यो बाहिर जानकारी नभएको बताएका छन्। नेपालकै ठूलो सामाजिक सुरक्षा कोष भएर पनि त्यो अनुसारको जानकारी बाहिर आउन नसक्नुको कारण खोज्न उनले सञ्चयकोषका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्। अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभई उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्नु पर्ने पनि बताए।

उनले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरूको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजानु पर्ने पनि बताए। उनले कोषले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्न पर्नेमा जोड दिँदै भने,‘हामीकोमा जहाँ पनि जनशक्ति अधिक तर काम न्यून। सञ्चयकोषमा त्यस्तो नहोस्। काम गर्दै कोषको परिचालन गर्दै सञ्चयकर्तालाई अधिक लाभ दिने काम अघि बढोस्।’

उनले दक्ष र क्षमतावान जनशक्तिलाई जिम्मेवार बनाउँदै काम गर्न पर्ने र कमजोरलाई बिदा गर्दै जानपर्नेमा जोड दिए। उनले नेपालमा रोजगारीको पनि आवश्यकता भएपनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको तर प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरू सबैले सकेसम्म कम जनशक्तिबाट अधिक कामको अपेक्षा सरकारले गरिरहेको उनले बताए।

संस्थाहरूले जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्नेमा पौडेलको जोड थियो। मन्त्रीले कोषमा ५ सय दरबन्दी भएपनि अहिले ३ सय ७१ जनाले नै काम गरिहेकालाई त्यसमा नै पुग्ने गरि प्रविधि मैत्री बनाएर अघि बढ्न समेत आग्रह गरे।

सञ्चयकोषका प्रमुख सीए जितेन्द्र धितालले कोषलाई अझ प्रविधि मैत्री बनाउँदै लैजाने र पुरानो तवरले चलेका विषयलाई आधुनिकीकरण गर्ने पनि बताए। नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको अवस्थामा सञ्चयकोष्याले पनि त्यसमा ध्यान दिने तयारी भइरहेको छ। थोरै जनशक्तिबाट पनि धेरै काम लिन प्रविधि मैत्री जनशक्ति खडा गर्न पर्नेमा उनको कजोड थियो।

मन्त्रीपुगेको उक्त कोषको कार्यालयमा धितालले कोषको गिितविधीबारे जानकारी दिएका थिए। उनले कोषलाई सबै समाजिका सुरक्षाकोषको अभिभावको रुपका राख्न पर्नेमा जोड दिएका थिए।

कर्मचारी सञ्चय कोष ऐन, २०१९’ बमोजिम २०१९ भाद्र ३१ मा यसको स्थापाना भएको हो। कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरूको निमित्त सञ्चय कोष व्यवस्थापन गर्दछ।

साथै¸ कोषले ‘निवृत्तभरण कोष ऐन, २०७५’ बमोजिम २०७६ श्रावण १ देखि नियुक्त भएका निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका राष्ट्रसेवकहरूका साथै नेपाल सरकारको स्वमित्वमा रहेका र नेपाल सरकारको अनुदानमा सञ्चालन हुने सबै निकायका कर्मचारीहरूको योगदानमा आधारित निवृत्तभरण कोष व्यवस्थापनको कार्य समेत गर्दै आएको छ।

कोषले सञ्चयकर्ताहरूलाई सामाजिक सुरक्षाका सुविधाहरूबाट लाभान्वित गराउनुका साथै थप नयाँ सुविधाहरूको अध्ययन तथा अनुसन्धान र कार्यान्वयन गर्ने जस्ता जानकारी पनि मन्त्रीलाई दिएका थिए। यसले सञ्चयकर्ताको सेवाकालीन आवश्यकता परिपूर्तिका लागि विविध प्रकारका सापटी सुविधाहरूको सञ्चालन तथा व्यवस्थापन लगायतका कार्य समेत गर्दै आएको जनाइएको थियो।

कोष कानुनद्वारा व्यवस्थित गरिएको अनिवार्य सेवानिवृत्त बचत व्यवस्था हो। यसैले आयकर ऐन, २०५८ द्वारा कर्मचारी सञ्चय कोषलाई स्वीकृत अवकाश कोषको रुपमा परिभाषित गरिएको छ।

प्रकाशित: २५ भदौ २०८१ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =