सुर्खेत- दैलेख दुल्लू अस्पतालमा किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण भएको छ। किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि दुल्लू अस्पताललाई सोमबार एक कार्यक्रम गर्दै किशोरकिशोरीमैत्री प्रमाणीकरण गरिएको हो।
किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाण पत्र प्रदान गरिएको दुल्लू नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर शाहीले बताए। किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका ८ वटा मापदण्ड कम्तीमा ८० प्रतिशत सूचक पूरा गरेको हुनुपर्ने उनले जानकारी दिए।
दुल्लु नगरपालिका स्वास्थ्य शाखा दैलेखले किशारकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणिकरणका लागि दुल्लू नगरपालिका अन्तरगत २ वटा स्वास्थ्य संस्थाहरूलाई छनौट गरेको थियो। जसअनुसार किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ अनुसारको मापदण्ड पूरा गरेको दुल्लू अस्पताललाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख शाहीको भनाइ छ।