सप्तरी- युवा तथा खेलकुदमन्त्री तैजुलाल चौधरीले राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुन जरुरी रहेको बताएका छन्।
नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइनले आज (मंगलबार) यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठासमेत बढाउने भएकाले यस क्षेत्रको विकास अपरिहार्य रहेको बताएका हुन्। मन्त्री चौधरीले खेलाडीलाई अवसर, सेवासुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएकाले खेलकुद क्षेत्रमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए।
नेपालमा क्रिकेट रंगशालाको अभावलगायत समस्या भए पनि खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको योगदान, खेलप्रेमीको मायाले खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको भन्दै उनले अब खेलाडीलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधारको व्यवस्था गरिनुपर्नेमा जोड दिए।
मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेश प्रदेश राजधानी जनकपुरधाम, वीरगञ्ज र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताए। उनले एघारौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रंगशाला निर्माण गरिने विश्वास दिलाए।
त्यस अवसरमा बोदेबरसाइन नगर बजार व्यापार संघका पदाधिकारीले मन्त्री चौधरीलाई स्वागत गर्दै बजारको विकासका लागि भन्सार कार्यालय स्थापना, कबर्ड हल र राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापनाका लागि आग्रह गरेका थिए।
मन्त्री चौधरी सप्तरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छ।