गण्डकीमा पृथ्वीसुब्बाको भागमा एकजना मन्त्री, खगराजको वर्चस्व

हिमाल प्रेस १७ भदौ २०८१ १०:३३
34
SHARES
गण्डकीमा पृथ्वीसुब्बाको भागमा एकजना मन्त्री, खगराजको वर्चस्व एमाले नेता खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ।

काठमाडौँ- गण्डकी प्रदेशमा एमालेबाट ४ जना मन्त्री आज सरकारमा सहभागी हुँदैछन्। पद्मा जिसी श्रेष्ठ, मित्रलाल बस्याल, कृष्ण पाठक, प्रकाश केसी मन्त्री बन्ने भएका छन्।

गण्डकी एमाले स्रोतका अनुसार उनीहरूलाई आजै मन्त्री बनाउने तयारी भइरहेको छ। मुख्यमन्त्री कार्यालयका अनुसार आज दिउँसो १ बजे उनीहरूको शपथ छ। ४ मन्त्रीमध्ये तीनजना खगराज अधिकारी निकट रहेका छन्। पर्वतबाट जितेका मित्रलालमात्रै पृथ्वीसुब्बाका मन्त्री हुन्। एमालेको उपमहासचिव साथै केन्द्रीय मन्त्री भएर पनि पृथ्वीसुब्बा गृहप्रदेशमा अल्पमतमा परेका छन्।

गण्डकीमा खगराज र पृथ्वीसुब्बाको टकराव छ। केही दिनअघि मात्रै पृथ्वीसुब्बाले पोखरामा गठबन्धनलाई ‘कहीँ नभएको जात्रा, हाँडी गाउँमा’ भनेका थिए। उनी गण्डकीको गठबन्धनप्रति सन्तुष्ट थिएनन्।

एमालेबाट पार्टीको नेतृत्व पदमा जिसी श्रेष्ठले गर्नेछिन्। उनी नवलपुरबाट निर्वाचित सांसद हुन्। कृष्ण पाठक (बाग्लुङ), प्रकाश केसी (कास्की)का हुन्। जिसी र बस्याल प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पाठक र केसी समानुपातिक सांसद हुन्।

‘हाइकमान्ड’को दबाबमा प्रकाश मन्त्री बन्दै

लामो समय राप्रपामा रहेका प्रकाश केसी पनि मन्त्री बन्न लागेका छन्। केसी यसअघि खाद्य संस्थानको महाप्रबन्धकसमेत भएका थिए। केसीलाई मन्त्री बनाउन एमाले केन्द्रीय नेताहरूकै दबाब थियो। ‘पार्टीकै नेताबाट दबाब आएपछि उनी मन्त्री बन्न लागेका हुन्।’ एमाले निकट स्रोत भन्छ।

गण्डकीमा भागबन्डा मिलाउन मन्त्रालय फुटाइएसँगै एमाले सरकारमा सहभागी हुन लागेको हो। एमाले–कांग्रेसबीच मन्त्रालय ७ बाट बढाएर ९ बनाउने सहमति भएको थियो। कांग्रेसका सुरेन्दराज पाण्डे मुख्यमन्त्री छन्।

कुनैबेला आफूलाई संकटमा साथ दिएका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ)लाई नहटाउने मुख्यमन्त्रीको अडानले मन्त्रालय फुटाउनु परेको हो।

कांग्रेसबाट यसअघि नै बिन्दुकुमार थापा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र डा।टकराज गुरुङ आर्थिक मामिला मन्त्री छन्। समाजवादीका फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् भने राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेर बसेका छन्।

प्रकाशित: १७ भदौ २०८१ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast