चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी हुन्छः मुख्यसचिव

हिमाल प्रेस ६ भदौ २०८१ ८:१३
4
SHARES
चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी हुन्छः मुख्यसचिव

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई) ले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी सञ्चालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ। परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरूसहितको पुस्तिक सार्वजनिक गर्दै यस वर्षको पहिलो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा मुख्यसचिव गड्तौलाले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्दै बजेट वाच पहलमार्फत परिसंघले सरकार एवं निकायहरुलाई सहयोग गरेको बताइन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अन्य आर्थिक वर्षको तुलनामा प्रभावकारी हुने उनको भनाइ छ। अर्थतन्त्रसँग सम्बन्धित अन्य विषय छुटेको भन्दै त्यस्ता विषयहरुलाई समेत समावेश गर्न उनले सुझाव समेत दिइन्।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको सफल कार्यान्वयनबाट नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार भई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न बजेटको सफल कार्यान्वयन अति आवश्यक रहेको धारणा राखे। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइ देशको आर्थिक विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा ‘सीएनआई बजेट वाच’ पहल संचालन गरिरहेको उनको भनाइ थियो।

सेजनका निवर्तमान अध्यक्ष जनार्दन बरालले गत आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ७३ वटा बुँदा मध्ये १८ वटा बुँदा अर्थात २५ प्रतिशत पूर्ण कार्यान्वयन भएको उल्लेख गरे। यस्तै ५१ वटा अर्थात ७० प्रतिशत बुँदा आंशिक कार्यान्वयन भएको र ४ वटा अर्थात ५ प्रतिशत बुँदामा कुनै प्रगति नभएको तथ्यांक उनले प्रस्तुत गरेका थिए।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था र त्यसको कार्यान्वयनका विषयमा गरिनुपर्ने कामका विषयमा प्रस्तुतिकरण दिएका थिए। सो कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेय, संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसहित विभिन्न मन्त्रालयका सहसचिव, विभिन्न विभागका महानिर्देशक एवं उच्च सरकारी अधिकारी, उद्योगी व्यवसायी, पत्रकारलगायतको सहभागिता रहेको थियो।

सीएनआई बजेट वाच नेपाल सरकारले बजेटमा समावेश गरेको निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकारका नीति तथा कार्यक्रमहरुको सफल कार्यान्वयन गर्नका लागि तयार गरिएको सार्वजनिक निजी संवाद कार्यक्रम हो।

प्रकाशित: ६ भदौ २०८१ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =