गाईजात्राले विकृति र विसंगति उजागर गर्ने पर्व : सभामुख

हिमाल प्रेस ४ भदौ २०८१ ६:३८ | Tuesday, August 20, 2024
गाईजात्राले विकृति र विसंगति उजागर गर्ने पर्व : सभामुख

काठमाडौँ- सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन्। गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताए।

उनले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमंग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौँ उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ। नेवार समुदायमा वर्षदिनभित्र दिवंगत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ।

प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म मनाउने यो पर्व राष्ट्रिय सांस्कृतिक पनि पर्व हो।

‘नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो । हाम्रा धार्मिक, सांस्कृतिक एवं परम्परामा आधारित चाडबाडले सामाजिक एकतासँगै समाजलाई अनुशासित र लोककल्याणकारी बनाउन ठूलो योगदान दिएका छन् । धर्म, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यताका कारण नेपाललाई विश्वमै सांस्कृतिक वैभवशाली मुलुक मान्ने गरिएको छ’, शुभकामना सन्देशमा उल्लेख छ।

गाईजात्रा जस्ता चाडपर्वले सामाजिक, धार्मिक एवं सांस्कृतिक मूल्य र मान्यतालाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नसक्ने भावनाको विकास गर्न सक्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ४ भदौ २०८१ ६:३८ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast