यी हुन् स्तनपानसम्बन्धी १४ भ्रम

हिमाल प्रेस २४ साउन २०८१ ९:१५
4
SHARES
यी हुन् स्तनपानसम्बन्धी १४ भ्रम

१. स्तनपान गराउन सहज छ ।
शिशुहरू आफ्नी आमाको स्तनको खोजी गर्ने प्रवृत्तिसहित जन्मिएका हुन्छन्। यद्यपि, धेरै आमाहरूलाई स्तनपान गराउँदा उनीहरूका शिशु सही तरिकाले बोकिएको र स्तनसँग सही तरिकाले जोडिएको छ भन्ने सुनिश्चित गर्न व्यावहारिक सहायता चाहिन्छ। स्तनपानका लागि आमा र शिशु दुवैलाई समय र अभ्यास चाहिन्छ । स्तनपान गराउन समय पनि लाग्दछ, त्यसैले आमाहरूलाई घरमा र काममा उचित स्थान र सहायता आवश्यक हुन्छ।

२. स्तनपान गराउँदा दुख्नु सामान्य कुरा हो- स्तनको मुन्टो दुख्नु त अनिवार्य जस्तै हो ।
धेरै आमाहरूले शिशुको जन्मेपछि स्तनपान गराउन सिक्दै गर्दा सुरुका केही दिन असहज अनुभव गर्दछन् । तर स्तनपानका लागि शिशुलाई सही तरिकाले बोक्न र स्तनसँग शिशु सही तरिकाले जोडिएको सुनिश्चित गर्न सही सहयोग हुने हो भने स्तनको मुन्टोमा हुने दुखाइ हटाउन सकिन्छ । यदि आमाले स्तनपान गराउँदा स्तनको मुन्टो दुख्ने जस्ता चुनौती सामना गरिरहेकी छन् भने त्यसबाट छुटकारा दिलाउन स्तनपान सल्लाहकार वा अन्य दक्ष व्यक्तिले सहयोग गर्न सक्दछन् ।

३. स्तनपान गराउनुअघि स्तनको मुन्टो धुनु पर्छ ।
स्तनपान गराउनुअघि स्तनको मुन्टो धुनु आवश्यक छैन । शिशुहरू जन्मदा नै उनीहरूसँग आफ्नी आमाको गन्ध र आवाजसँग परिचित हुन्छन् । स्तनको मुन्टोबाट एउटा यस्तो पदार्थ उत्पादन हुन्छ, जसलाई शिशुले सुँघ्दछ । साथै यसमा राम्रो गर्ने ब्याक्टेरिया हुन्छन्, जसले जीवनभरका लागि शिशुको प्रतिरक्षा प्रणाली विकासमा मदत गर्दछ ।

४. आमालाई आराम दिन नवजात शिशु र आमालाई अलग राख्नुपर्छ ।
डाक्टर, नर्स र सुडेनीहरूले प्रायः शिशु जन्मनासाथ प्रत्यक्ष छालामा छाला जोडेर छातीमा टाँस्ने अभ्यासलाई प्रोत्साहित गर्दछन् । यस्तो अभ्यासलाई कङ्गारुको जस्तो हेरचाह पनि भनिन्छ । आमाको छालामा शिशुको छाला जोडेर शिशुलाई प्रत्यक्ष सम्पर्कमा ल्याउने कार्य निकै महत्वपूर्ण अभ्यास हो, यसले शिशुलाई स्तन भेट्न र त्यससँग जोडिन मदत गर्दछ । तपाईंले शिशु जन्मेको एक घन्टाभित्र र त्यसपछि पटक पटक यो अभ्यास गर्नुभयो भने यसले स्तनपानका लागि आमा र शिशुको सम्बन्ध स्थापित गर्दछ । आमा यस्तो गर्न असमर्थ रहेमा पति वा परिवारका अन्य सदस्यहरूले यसप्रकारको कदम उठाउन सक्नुहुन्छ ।

५. स्तनपान गराइरहँदा सादा खाना मात्र खानुपर्छ ।
अरू सबैले जस्तै स्तनपान गराइरहेका आमाहरूले पनि सन्तुलित भोजन खान आवश्यक छ । सामान्यतः आफ्नो खानपानका बानी व्यवहारमा परिवर्तन गर्न आवश्यक हुँदैन । गर्भमा हुँदाको समयदेखि नै शिशुलाई आफ्नी आमाको भोजनसम्बन्धी प्राथमिकताबारे थाहा भइसकेको हुन्छ । आमालाई आफुले खाएको कुनै खास खानामा आफ्नो शिशुले कुनै खालको प्रतिक्रिया जनाउँछ की भन्ने लाग्छ भने यस्तोमा कोही विशेषज्ञको सेवा लिनु उत्तम हुन्छ ।

६. शारीरिक व्यायामले दूधको स्वादमा असर गर्दछ ।
स्तनपान गराउने आमाहरूका लागि पनि शारीरिक व्यायाम स्वस्थ कुरा हो । शारीरिक व्यायामले दुधको स्वादमा असर गर्दछ भन्ने केही पनि प्रमाण छैन ।

७. तुरुन्तै गर्नु भएन भने स्तनपान गराउन सक्नुहुन्न ।
शिशु जन्मिएको पहिलो एक घन्टामा सुरु गर्नुभयो भने स्तनपान सजिलो हुन्छ किनकि यस समयमा शिशुमा प्रतिक्रिया जनाउने प्रवृत्ति मजबुत हुन्छ । उनीहरू स्तनपान गर्ने कुरा सिक्नका लागि तयार हुन्छन् । यदि तपाईंले शिशु जन्मनसाथ बोक्न सक्नु भएन भने आफ्नो परिस्थितिअनुसार सक्दो चाँडो स्तनपान सुरु गर्नुहोस् । तपाईंलाई आफ्नो शिशुलाई स्तनपान गराउन सहयोगको आवश्यकता छ भने स्तनपान सल्लाहकार वा अन्य दक्ष मानिससँग सहयोग माग्नुहोस् । पटक पटक शिशुको छालामा आफ्नो छाला जोडेर बोक्नाले साथै शिशुलाई स्तनसँग टाँस्नाले स्तनपानलाई अगाडि बढाउन मदत मिल्दछ ।

८. स्तनपान गराउन चाहनुहुन्छ भने कहिल्यै पनि फर्मुलाको ९शिशुको पोषणका लागि तयार पारिएका धुलो दुध० प्रयोग नगर्नुहोस् ।
स्तनपान जारी राखेर पनि कतिपय बेलामा यस्ता फर्मुलाहरूको उपयोग गर्न आवश्यक छ भनी आमाहरूले निर्णय गर्न सक्दछन् । आफ्नो स्तनबाट आउने दुधको सट्टामा प्रयोग गरिने फर्मुला र अन्य उत्पादनहरूका बारेमा निष्पक्ष जानकारी प्राप्त गर्नु महत्वपूर्ण छ । आफ्नो स्तनबाट आउने दुधको उत्पादन भइरहोस् भन्नका लागि जति सम्भव हुन्छ, त्यति पटक आफ्नो शिशुलाई स्तनपान गराइरहनुहोस् । स्तनपानलाई जारी राख्ने गरी आफ्ना लागि उपयुक्त योजना बनाउने काममा मदत लिन स्तनपान विशेषज्ञ वा दक्ष मानिसलाई सम्पर्क गर्नु आमाहरूका लागि उपयोगी कुरा हुनसक्छ ।

९. धेरै आमाहरूको पर्याप्त दुध नै आउँदैन ।
लगभग सबै आमाहरूले आफ्नो शिशुका लागि उचित मात्रामा दुध उत्पादन गरिरहेका हुन्छन् । शिशुलाई स्तनमा कति राम्रोसँग टाँसिएको छ, कति समयमा कति पटक दुध खुवाइएको छ र प्रत्येक स्तन चुसिरहँदा शिशुले कति दुध निकालिरहेको छ भन्ने कुराले आमाको दुध उत्पादन क्षमतालाई निर्धारण गरिरहेको हुन्छ । स्तनपान महिला एक्लैको काम होइन, आमाहरूलाई सहयोग चाहिन्छ । स्वास्थ्य सेवा प्रदायकहरूबाट जारी स्तनपान मार्गदर्शनअनुसार घरमा सहयोग प्राप्त गर्नुहोस् साथै राम्रोसँग खानपान गरी स्वस्थ रहनुहोस् ।

१०. बिरामी हुँदा स्तनपान गराउनु हुँदैन ।
बिरामी वा रोगको प्रकृतिका आधारमा बिरामी हुँदा पनि आमाहरूले सामान्यतः स्तनपान गराइरहन सक्छन् । तपाईंले सही उपचार, आराम र राम्रो खानपान पाउने सुनिश्चित गर्न आवश्यक हुन्छ । धेरै अवस्थामा तपाईंको शरीरले रोगसँग लड्न बनाउने रोग प्रतिरोधी तत्वहरू तपाईंको शिशुमा सरेर उसको शरीरका लागि आवश्यक प्रतिरक्षा प्रणाली विकास गर्न सक्दछ ।

११. स्तनपान गराइरहनुभएको छ भने कुनै प्रकारका औषधि खान हुन्न।
तपाईंले स्तनपान गराइरहनुभएको कुरा डाक्टरलाई जानकारी गराउनुका साथै पसलबाट सिधै किन्न पाइने औषधीहरूमा भएका निर्देशनहरू पढ्नु महत्वपूर्ण हुन्छ । औषधी निश्चित समयमा लिने वा निश्चित मात्रामा खाने वा वैकल्पिक औषधी सेवन गर्नुपर्ने हुन सक्दछ । शिशुलाई हेरिरहेका डाक्टरलाई पनि के औषधी तपाईंले लिइरहनुभएको छ भनी बताउनु पर्दछ ।

१२। स्तनपान गराइरहेका शिशुहरू आमासँगै टाँसिइरहने हुन्छन्।
सबै शिशुहरू फरक हुन्छन् । जसरी जे खुवाएको भए पनि कोही शिशु टाँसिइरहने हुन्छन् भने कोही हुँदैनन् । स्तनपानले शिशुहरूलाई उत्तम पोषण मात्र प्रदान गर्दैन, यो त उनीहरूको विकासशील मस्तिष्कका लागि पनि महत्वपूर्ण हुन्छ । स्तनपान गराइने शिशुहरूलाई धेरै बोकिएको हुन्छ, जसका कारण स्तनपानले शिशुहरूको आमासँगको सम्बन्ध प्रगाढ बनाएको पाइन्छ ।

१३. एक वर्षभन्दा बढी स्तनपान गराउँदा शिशुलाई दुध छुटाउन गाह्रो हुन्छ ।
स्तनपान एक वर्षभन्दा बढी गराएपछि दुध छुटाउन गाह्रो हुन्छ भन्ने कुनै प्रमाण छैन । तर, दुई वर्षसम्म स्तनपान गराउनु आमा र शिशु दुवैका लागि लाभदायक हुन्छ भन्ने चाहिँ प्रमाणहरू छन् । सबै आमा र शिशुहरू फरक हुन्छन् र उनीहरूले कहिलेसम्म स्तनपान गर्ने र गराउने भन्ने कुरा आफ्ना चाहनाअनुसार आपसमा निर्धारण गर्न आवश्यक हुन्छ ।

१४. काममा फर्कनु छ भने शिशुलाई दुध छुटाउनु पर्छ ।
धेरै आमाहरूले काममा फर्किएपछि पनि स्तनपान जारी राख्छन् । सबैभन्दा पहिले आफ्नो देश र कार्यस्थलका नीतिहरू हेर्नुहोस् । तपाईंसँग कार्यालय समयमा स्तनपान गराउने समय र स्थानको अधिकार छ भने घर गएर स्तनपान गराउन, परिवारका सदस्य वा सहयोगी साथीलाई तपाईंको शिशुलाई तपाईं भएको ठाउँमा ल्याउन वा तपाईंको दुध निकालेर घरसम्म पठाउन सक्नुहुन्छ । कार्यालय समयभित्र स्तनपान गराउने विकल्प छैन भने दिनको समयमा दुध निकालेर पठाउने र घरमा भएको समयमा शिशुलाई प्रत्यक्ष स्तनपान गराउनुहोस् । तपाईंले केही पटकको खानामा आफ्नो दुधको सट्टामा अरू केही खुवाउने निर्णय गर्नुभएको छ भने पनि तपाईं शिशुसँगै भएको समयमा स्तनपानलाई निरन्तरता दिनु धेरै राम्रो हुन्छ ।

यूनिसेफको सहयोगमा

प्रकाशित: २४ साउन २०८१ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast