तनहुँ- आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ। २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज शल्यक्रियाकक्षको आज शुभारम्भ गर्दै अस्पतालको थप स्तरोन्नति र विकासका लागि सङ्घीय सरकारको सहयोग रहने जानकारी दिए। उनले गाउँपालिकाले पालिकास्तरीय अस्पताल सञ्चालन गरेर यस भेगका जनतालाई दिएको सेवा सकारात्मक रहेकाे बताए।
अस्पतालका प्रमुख डा.डिबी क्षेत्रीले गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रियाकक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको जानकारी दिए।
लामो समयको प्रयासपश्चात् अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। अस्पतालले प्रसूति, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ।
अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ। अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ। अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन्।
आँबुखैरेनी–३ मा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन भएको थियो।