घटे नेपालमा काम गर्न आउने विदेशी कामदार

रमेश भारती १३ साउन २०८१ ११:३३
46
SHARES
घटे नेपालमा काम गर्न आउने विदेशी कामदार

काठमाडौँ- गत आर्थिक वर्षमा रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्या घटेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार गत आर्थिक वर्षमा २ हजार ६ सय ८५ जना विदेशी कामदारले श्रम स्वीकृति लिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशतले घटेको विभागले जनाएको छ।

अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार ९ सय ९४ जना विदेशीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ। गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको संख्या २ हजार ६ सय ८५ रहेको विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा ३ सय ९ जना रोजगारीका लागि आउने विदेशी कामदारको संख्या घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले जानकारी दिए।

उनका अनुसार नेपाल रोजगारीका लागि ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँँ कामदार छन्। पछिल्लो समयमा रुस-युक्रेन युद्ध र आर्थिक मन्दीका कारण नेपाल रोजगारीका लागि आउने विदेशी कामदारको संख्या घटेको उनले बताए।

‘विदेशी विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न विदेशी कामदार आउँछन्। प्राय निर्माणधिन क्षेत्रमा उच्च प्रविधिकहरु रोजगारीका लागि आउने गरेका छन्’ उनले भने।नेपालमा काम गर्ने विदेशी कामदारलाई सरकारले ६ वर्षसम्मको श्रमस्वीकृति दिने गरेको छ। कतिपय विदेशी कामदारले भने श्रम स्वीकृति नवीकरण गर्दै बस्ने गरेको विभागले जनाएको छ।

नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ। एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने ऐनमा व्यवस्था छ। तर, विदेशी विकास साझेदार कम्पनीहरुले नेपालीलाई परीक्षार्थी कामदारका रूपमा राख्दैन भने नेपालमा विदेशी कम्पनीले खोजेजस्तो परीक्षार्थी कामदार नपाउँदा उनीहरूले विदेशी कामदार ल्याउने गरेको विभागका निर्देशक गोप बताउँछन्।

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा मात्र विदेशी श्रमिक राख्न पाउने व्यवस्था श्रम ऐनमा छ। तर विदेशी कम्पनीले खोजेजस्तो दक्ष कामदार नेपाल नपाएको भन्दै उनीहरुले विदेशी कामदार ल्याउने गरेको उनले जानकारी दिए।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति मात्र रोजगारीका लागि नेपाल ल्याउनुपर्ने व्यवस्था छ। तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौता अनुसार नेपालमा दक्ष कामदार नपाएको भन्दै वर्षेनी विदेशी कम्पनीले विदेशी कामदार ल्याउने गरेका छन्।

यसका अनुगमन फित्तलो हुँदा नेपालकै दक्ष कामदारले रोजगारी पाउन नसकेको पाइन्छ। नेपालमा निर्माणधिन खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनी, इलेक्ट्रोनिक कम्पनी र एयरलाइन्सको रोजगारीमा धेरै विदेशी कामदार कार्यरत छन्।

योसँगै काठमाडौँ–तराई–मधेश द्रूतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, साञ्जेन खोला हाइड्रोपावर, पोलि चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, चाइना ओभरसीज इन्जिनियरिङ, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल र हुवावे टेक्नोलोजी, रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली र दोहा इन्जिनियरिङ कम्पनीमा सबैभन्दा बढी विदेशी कामदार कार्यरत रहेको रहेको विभागको तथ्यांकमा छ।

आव २०७६/७७ मा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको संख्या २ हजार ५० जना, २०७७/८७ मा २ हजार ३९० जना, २०७८/७९ मा २ हजार १८१ र २०७९/८० मा २ हजार ९९४ जना विदेशी कामदार रोजगारीका नेपाल आएको विभागको तथ्यांकमा छ।

प्रकाशित: १३ साउन २०८१ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast