‘हिटलर आउँदैछ’ मार्फत् रंगमञ्चमा वर्षाको डेब्यु

हिमाल प्रेस ८ साउन २०८१ १३:३९ | Tuesday, July 23, 2024
‘हिटलर आउँदैछ’ मार्फत् रंगमञ्चमा वर्षाको डेब्यु

काठमाडौँ- अभिनेत्री वर्षा राउतले नाटक ‘हिटलर आउँदैछ’ मार्फत रंगमञ्चमा डेब्यु गर्ने भएकी छन्। निर्माण टिमले अमेरिकामा कार्यक्रम गर्दै नाटकमा अभिनेत्री वर्षा रहकाे जानकारी दिएको हो।

टिमकाअनुसार नाटक अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा मञ्चन गरिनेछ। नाटकका निर्देशक विमल सुवेदी हुन्। भने नाटक निर्देशक विमल र जोयश पाण्डेको संयुक्त लेखन छ। जोयश फिल्म ‘साँघुरो’ का निर्देशक हुन्। नाटकमा अभिनेत्री वर्षासहित र जोयशको पनि अभिनय रहनेछ।

थुप्रै फिल्ममा अभिनय गरेकी वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छन्। हाल रिहर्सल चलिरहेको नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको उनले बताइन्।

‘नाटकबाट आएको धेरै कलाकारसँग फिल्ममा काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिले देखिनै थियो तर अवसर यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु।’ उनले खुसी व्यक्त गर्दै भनिन् ‘मेरो पहिलो नाटक नै नेपालका उत्कुष्ट नाट्य निर्देशक तथा प्रशिक्षक विमल सुवेदीसँग, त्यो पनि अमेरिकाबाट हुनु चानचुने संयोग होइन। साथै नेपालका उत्कुष्ट निर्देशक जोयस पाण्डेसँगै नाट्ययात्रा सुरू गर्नुले मलाई उत्साहित बनाएको छ। यो नाटकबाट धेरै कुरा पाउनेमा म विश्वस्त छु।’

लेखक तथा निर्देशक विमल सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लण्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण भएको बताए।

भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपालीभाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको निर्देशक सुवेदीले जानकारी दिए।

‘नाटकमामा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको छ।’ उनले भने ‘म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ। यही सिद्धान्त प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौँ। यही क्रमको निरन्तरताको रुपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रुपमा लिएका छौँ। यसलाई कोसेढुंगा बनाउन कुनै कसर छाड्ने छैनौं’ उनले भने।

आफूसँग २० बढी देशमा नाटक मञ्चनको अनुभव रहेको बताउँदै नेपाली सभ्यता, संस्कृति, सोच, क्षमता विश्व बजारमा आफ्नो पहिचान सम्मानपूर्वक राख्न सक्ने भइसकेको निर्देशक सुवेदीले बताए। कलाकार जोयस पाण्डेले आफ्नो परिचय निर्देशकका रूपमा स्थापित रहे पनि आफूले कलाकारको रुपमा थुप्रै नाटक गरेको स्मरण गरे। उनले निर्देशक बन्नुअघि आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरेको जानकारी दिए।

‘मैलै आफ्नो यात्रा अभिनेताको रुपमा नाटकबाटै सुरु गरेको हुँ। तसर्थ विमलजीलाई भेटेपछि फेरि मलाई एकपल्ट अभिनेताका रुपमा नाटकमा काम गर्ने रहर भयो र यसमा सहलेखनसँगै मुख्य अभिनेताका रुपमा पनि म जोडिएको छु।’ उनले भने।

नाटक २३ अगस्टमा ओहायोको एक्रोनमा वल्र्ड प्रिमियर गरिनेछ र अमेरिकाकै विभिन्न स्थानलगायत अन्य देशमा पनि मञ्चन गरिनेछ। नाटक नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका पहलकर्ता आकाश खतिवडाले बताए।

अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्य छ। साथै सनसाइन तेकवान्दो एण्ड डान्स एकेडेमी लागयतका विभिन्न संघसंस्थाले सहकार्य गर्नेछ।

प्रकाशित: ८ साउन २०८१ १३:३९ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast