रोकियो राष्ट्रपतिको अन्तरवार्ता प्रसारण

हिमाल प्रेस २ मंसिर २०७९ ५:२० | Friday, November 18, 2022
रोकियो राष्ट्रपतिको अन्तरवार्ता प्रसारण

काठमााडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता निर्वाचनको मौनअवधिभर प्रसारण नहुने भएको छ।

राष्ट्रपति भण्डारीले एपीवान टेलिभिजनलाई दिएको अन्तर्वार्ता आइतबार राति प्रसारण गरिने भनिएको थियो। तर हिमाल प्रेसले यो विषयमा समाचार प्रकाशित गरेको केही घण्टापछि उक्त टेलिभिजनले राष्ट्रपति भण्डारीसँगको अन्तर्वार्ता प्रसारण रोकिएको बताएको हो।

हिमाल प्रेसले ‘मौनअवधिमा राष्ट्रपति भण्डारीको अन्तर्वार्ताबारे खुलदुली’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

एपीवान टेलिभिजनका प्रधान सम्पादक तथा अन्तर्वार्ताकार टीकाराम यात्रीले नै सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै अन्तर्वार्ता अब आउँदो आइतबार प्रसारण गरिने उल्लेख गरेका छन्।

‘हामीले आज (शुक्रबार) राति ९ बजे तमसोमा ज्यतिर्गमयको विशेष श्रृंखलाअन्तर्गत सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अन्तर्वार्ता प्रसारण गर्ने जानकारी गराएको यहाँहरूलाई विदितै छ,’ यात्रीले लेखेका छन्,‘तर हामीले ञप्रोमोझ प्रसारण गरेलगत्तै निर्वाचन आयोग एवं विभिन्न दलका शीर्ष नेतृत्व तहबाट यसबारे चासो व्यक्त भएको र निर्वाचन अवधिको ’स्थिर समय’मा राष्ट्रपति ज्यूको अन्तर्वार्ता प्रसारण गर्न बान्छनीय नहुने सुझाव हामीलाई प्राप्त भएका कारण उक्त अन्तर्वार्ता निर्वाचनको मतदानपछि आइतबार राति मात्र प्रसारण गरिने जानकारी गराउँदछौँ।’

हिमाल प्रेससँग कुरा गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार, राजनीतिक शास्त्रीहरूले राष्ट्रपति भण्डारीको अन्तर्वार्ता निर्वाचनको मुखमा प्रसारण हुनु ठिक नहुने सुझाव दिएका थिए।

हिमाल प्रेसमा समाचार छापिएपछि आफूलाई अन्तर्वार्ता रोक्न विभिन्न क्षेत्रबाट सुझाव आएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए। राष्ट्रपति कार्यलयकै इच्छाअनुसार अन्तर्वार्ता प्रसारण दुई दिनपछि सरेको बताइएको छ। अन्तर्वार्ता प्रसारण रोक्ने विषयमा राष्ट्रपति कार्यालय, सरकार र निर्वाचन आयोगबीच छलफल भएको स्रोतले बताएको छ।

राष्ट्रपति कार्यालयका एक अधिकारीले कुनै राजनीतिक दललाई सहयोग पुग्नेगरी दिइने, प्रसारण हुने अन्तर्वार्ताले राष्ट्रपति र सिंगो संस्थालाई नै असर गर्नसक्ने बताए।

प्रकाशित: २ मंसिर २०७९ ५:२० | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast