जसपा : कार्यसमिति चयनको जिम्मा अध्यक्ष यादव आफैँले लिए

हिमाल प्रेस ३१ जेठ २०८१ २१:२९
24
SHARES
जसपा : कार्यसमिति चयनको जिम्मा अध्यक्ष यादव आफैँले लिए जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

धनुषा– जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ।

बिहीबार दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरिएको हो। अध्यक्षमा भने यादव निर्विरोध निर्वाचिन भएका छन्।

महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका स्थगित गरी सहमतिबाट चयन गर्ने निर्णय भएको हो। अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिए। उनका अनुसार अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसलाई अनुमोदन हुनेछ।

अध्यक्षबाहेकका पदमा नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो। जसपा नेपालमा २१ जना पदाधिकारीसहित दुई सय एक सदस्यीय केन्द्रीय समिति चयन हुनेछ।

एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए। यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो खालिद, गोविन्द चौधरी, आङ्देङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगरसहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए।

एक जना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा गरी छ जनाले उम्मेदवारी दिएका थिए।

दुई सय एक पदका लागि तीन सय भन्दा बढीको उम्मेदवारी परेको थियो। मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुने भएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने घोषणा अध्यक्ष यादवले गरेका थिए।

महाधिवेशनको हलमा यादवले निर्वाचन हुने हो भने समावेशी नेतृत्व निर्वाचित हुन नसक्ने बताएका थिए। ‘चुनाव हुने हो भने हिमाल र पहाडका एकदुई जनाभन्दा बढी निर्वाचित हुने सम्भावना कम छ। किनभने पार्टीको मुख्य आधार तराई-मधेश हो । त्यस्तो अवस्थामा हामी कसरी पार्टीलाई सबै जातजाति, भाषा, धर्म, लिंगको प्रतिनिधित्व हुनेगरी समावेशी बनाउन सक्छौँ ?’, यादवको भनाइ थियो।

उनले चुनावभन्दा पार्टीलाई कसरी समावेशी बनाउने र पार्टीको संरचना कसरी बलियो बनाउने भन्ने मुख्य उद्देश्य भएको बताएका थिए। उनको प्रस्ताव थियो, ‘त्यसैले तपाईँहरू सहमत हुनुहुन्छ भने सबै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा टुंगो लगाऔँ।’

उनको प्रस्तावलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो। अनि उनले एकसाथ उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। जसअनुसार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। रासस

प्रकाशित: ३१ जेठ २०८१ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast