नेता देवशंकर पौडेलले ल्याए ‘लिखुसँग आत्मसमर्पण’

हिमाल प्रेस १९ जेठ २०८१ ९:१९
52
SHARES
नेता देवशंकर पौडेलले ल्याए ‘लिखुसँग आत्मसमर्पण’ पूर्वसांसद देवशंकर पौडेलको ‘लिखुसँग आत्मसमर्पण’ कृति शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा विमोचन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत।

काठमाडौँ- पूर्वसांसद देवशंकर पौडेलले संस्मरण संग्रह ‘लिखुसँग आत्मसमर्पण’ पाठकमाझ ल्याएका छन्। नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको यो कृति शुक्रबार काठमाडौँमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकार्पण गरेका हुन्। जसमा लेखकका गृहजिल्ला रामेछापसँग जोडिएका १ सय १९ वटा आलेख संगृहीत छन्। पूर्वप्रधानमन्त्री नेपालले प्रत्येक लेखका शीर्षक हेर्दाबित्तिकै पढ्न मन लागिहाल्ने बताए।

‘तपाईंहरू (दर्शकप्रति) नबिर्सिनुहोला,यो किताब पढ्नैपर्छ। पढ्नुभएन, पछि सोच्ने स्थिति नआओस्। त्यसो भएर पढ्नुहोला’, एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले भने, ‘हेर्दाखेरि किताब मोटो मात्रै छ, वास्तवमा होइन। ठूलो अक्षर भएकाले मात्र मोटो भएको हो।’

नेपालले लेखक पौडेलको सामाजिक, राजनीतिक व्यक्तित्वको चर्चा गर्दै उनको सादगीपन, इमानदारी, सज्जनताबाट सबैले धेरै प्रेरणा प्राप्त गर्न सकिने बताए। ‘उहाँले आफ्नो जन्मथलो रामेछाप, त्यहीँ जीवन पनि बिताउनुभयो। राजनीतिक यात्रा पनि प्रारम्भ गर्नुभयो। थुप्रै-थुप्रै चुनौतीको सामना गर्नुभयो। आफ्ना प्रतिद्वन्द्वीहरूलाई पराजित गर्ने काम पनि गर्नुभयो। रामेछाप जिल्लामा एउटा बलियो खम्बाका रूपमा उहाँले आफ्नो व्यक्तित्वलाई स्थापित पनि गर्नुभयो’, उनले भने, ‘त्यसैले रामेछाप भन्नेबित्तिकै देवशंकर पौडेलको नाम ठ्याक्कै जोडिन्छ।’

पत्रकार कपिल काफ्लेले पौडेलको लेखन वस्तुवादी रहेको टिप्पणी गरे। कुनै पनि विषयको गहिराइसम्म पुगेर लेख्ने गरेको उनको भनाइ थियो। सञ्चारकर्मी आनन्दकुमार श्रेष्ठले छोटा–छोटा आलेखपढ्न चाखलाग्दो रहेको बताए।

पत्रकार सचित राईले आत्मसमर्पण भन्नाले पराजय भन्ने बुझाइ रहे पनि लेखकले भने विजयप्राप्त गरेको यथार्थ कृतिमा रहेको उल्लेख गरे। ‘मलाई किताबको नामले नै लोभ्याइहाल्यो। उहाँ राजनीतिज्ञ भएको हुँदा पञ्चायतविरुद्धको आन्दोलन या सशस्त्र द्वन्द्वकालको मुठभेडको घटना होला भन्ने लागेको थियो’, उनले भने, ‘तर लिखु नदी पौडिएर तर्दा आत्मसमर्पण गर्नुपरेको क्षणको संस्मरण रहेछ। उहाँले त्यति बेला आत्मसमर्पण गर्दा पुनर्जीवन पाउनुभएको रहेछ।’

पौडेलले कोरोनाका बेला घरमा थुनिँदा किताब तयार गरेको सुनाए। ‘हाम्रा कुरा मामुली हुन्। यहाँ धेरै गतिला कुरा छैनन्। मामुली कुरा नै मैले लेख्या’हुँ। तर हाम्रा चिज पनि इतिहास हुन्’,  पौडेलले भने, ‘हामीले राणाको इतिहास दरै भन्छौँ। अनि आफ्नो बाउ, हजुरबाउ कसैको नाउँचाहिँ जान्दैनौँ। मल्लको खुरुखुरु गछौँ। आफ्नै बाउको जान्दैनौँ। मल्लको नामलेख्ने हो भने नम्बर आयो। हाम्रो बाउको लेख्यौँ भने नम्बर आएन। नम्बर आउने पढ्ने हुँदा हामीले हाम्रो बाउ बिर्स्यौँ। नम्बर आउने खोज्ने हुँदा हामीले हाम्रै इतिहास भुल्यौँ। त्यसकारण यहाँबाट थालनी गर्‍या हो।’ नेपाल एक्सप्लोर्स मिडियाका सञ्चालक श्रीहरि श्रेष्ठले पौडेलका अरू पनि कृति प्रकाशनको तयारीमा रहेको जानकारी दिए।

रामेछापका पूर्वसांसद तथा पूर्वमन्त्री पौडेल एकीकृत समाजवादीका नेता हुन्। उनी साहित्यकारका रूपमा पनि परिचित छन्। उनका यसअघि ‘थातथलाका कथाहरू’ र ‘स्थान नामकोश’ कृति प्रकाशित छन्।

प्रकाशित: १९ जेठ २०८१ ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast