काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ७७ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी भएका छन्। फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख शाह कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्।
तीन दिनसम्म चल्ने महात्सवमा नगर प्रमुख शाह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको अडियो-भिडियो कन्टेन्ट क्रियसन चेनको अवलोकनमा सहभागी हुने कार्यक्रम तय भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। फेस्टिबल मे १४ देखि २५ सम्म हुनेछ।
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक सङ्गठन (युनेस्को) ले नेपालको राजधानी काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ का रूपमा गत कात्तिकमा सूचीकृत गरिसकेको छ। फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’ को एक सदस्य हो।
कान्स नगरका नगर प्रमुख लिसनार्डले बालेनलाई पठाएको पत्रमा यस महोत्सवले फिल्मको दुई रचनात्मक सहर काठमाडौँ र कान्सलाई एक ठाउँमा ल्याउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको का.मले जनाएको छ। महोत्सवमा नेपालमा छायाकंन गरिएको ‘द सेमलेस’ अन रिगार्ड र नेपाली भाषाको फिल्म ‘तारा: अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएको छ।