पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी बने सुस्मिता र अर्जुन

हिमाल प्रेस २८ वैशाख २०८१ २०:१० | Friday, May 10, 2024
पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी बने सुस्मिता र अर्जुन

पोखरा- आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ सुस्मिता थापामगर र पुरुषतर्फ अर्जुन कुमालले हात पारेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा सभागृहमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ आइटीएफ तेक्वान्दोकी सुस्मिता वर्ष खेलाडी घोषित भएकी हुन्।

पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल वर्ष खेलाडी बनेका हुन्। उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो। वर्ष खेलाडी महिला विधामा अनुश्का शेरचन (आर्चरी) र अरुणा शाही (भलिबल) समेत मनोनयनमा परेका थिए। पुरुषतर्फ प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) थिए।

उपाधि विजेता सुस्मिता बागलुङ बडिगाडकी हुन्। २१ वर्षीया उनले छोटो समयमै उचाइ हासिल गरेकी छन्। आठौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण र २ रजत पदक जितेकी उनले नवौंमा गण्डकीलाई १ स्वर्ण र १ रजत पदक दिलाएकी थिइन्। गत वर्ष काजकिस्तानमा २२ औं वर्ल्ड  आइटीएफ च्याम्पियनसिपमा सहभागी उनी ११ औं नेसनल जेनेरल चोइ आइटीएफ तेक्वान्दो डो च्याम्पियनसिप एकलतर्फ १ स्वर्ण, टिम प्यार्टन १ स्वर्ण, व्यक्तिगत १ कांस्य हासिल गरिन्। आठौं नेसनल प्रोफेसनल तेक्वान्दो आईटीएफ च्याम्पियनसिप व्यक्तिगततर्फ १ स्वर्ण प्राप्त गरेकी छन्।

पुरुषतर्फ वर्ष खेलाडी १८ वर्षीय अर्जुन गुल्मी खर्ज्याङका हुन्। भारत नयाँदिल्लीमा जन्मिएका उनले गण्डकीका राहुल शर्मासँग क्रिकेट सिके। २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यु खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए। ५ वर्षअघि यू-१६ हुँदै सुरुआत गरेका उनी घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार शानदार प्रदर्शन गर्दै आएका छन्। २०१९ मा थाइल्याण्डमा यू-१६ इस्टर्न रिजन प्रतियोगिता छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे। उनले यू-१९ विश्वकप खेलेका छन्। गत वर्ष ४ वटा अन्तर्राष्ट्रिय टुर गरे। योसँगै आयरल्याण्ड र क्यानडासँग नेपाल ‘ए’ बाट खेले।

मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई सम्मान गरेको छ। उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको मञ्च अध्यक्ष दीननाथ बरालले बताए।

उदीयमान खेलाडीतर्फ ब्याडमिन्टनकी दिलासा राना उत्कृष्ट बनिन्। सो विधामा ज्योत्सनिका मरासिनी (क्रिकेट) र बादल कार्की (एथलेटिक्स) समेत उपाधि होडमा थिए। टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजूलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक भलिबलका रमेश केसी बने। उत्कृष्ट क्लब सहारा क्लब पोखरा र पत्रकारतर्फ रोहितराज पराजुलीले अवार्ड पाए। उनीहरूलाई ३५ हजारसहित अवार्ड प्रदान गरियो। ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसका अभिषेक बास्तोलालाई स्पेसल अवार्ड दिइयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगर प्रमुख धनराज आचार्य लगायतले अवार्ड हस्तान्तरण गरेको समारोहमा लोकप्रिय गायक प्रकाश सपूत आकर्षणको केन्द्र बने।

प्रकाशित: २८ वैशाख २०८१ २०:१० | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast