सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

हिमाल प्रेस १६ वैशाख २०८१ ९:४१
4
SHARES
सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा- झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ। कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ। झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए।

कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ। हाल झापामा दुई सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन्। पहिचान नभएका रोगीको संख्या अझ धेरै हुनसक्ने उनको अनुमान छ। हात्तीपाइले रोग नियन्त्रणका लागि धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा पनि आजै अभियान सञ्चालन हुँदैछ। सामुदायिकस्तरको संक्रमण नरोकिएकाले झापामा औषधि सेवन अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख बाराकोटीले बताए।

यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा सात सय ५० स्वास्थ्यकर्मी र छ सय छजना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। स्वास्थ्य कार्यालयकाअनुसार हालै जिल्लाको दक्षिणी क्षेत्रस्थित झापा गाउँपालिकामा गरिएको एक अध्ययनले लामखुट्टेको शरीरमा हात्तीपाइले रोग संक्रमण गराउने परजीवीको संख्या एक दशमलव ४४ प्रतिशत पाइएको थियो।

कचनकबल, अर्जुनधारा, मेचीनगरमा हात्तीपाइलेका रोगीको संख्या अधिक छ। गत वर्ष झापामा ७८ प्रतिशत जनसङ्ख्याले हात्तीपाइले निवारणका लागि औषधि सेवन गरेको थियो। यसपटक ९५ प्रतिशतलाई खुवाउने लक्ष्य छ। वैदेशिक रोजगारीमा गएका झापाका छजना हात्तीपाइले रोगको पहिचान भएपछि रोजगारी गुमाएर स्वदेश फर्किनुपरेको छ। मेचीनगरका तीन, बाह्रदशीका दुई र कचनकबलका एकजना मलेसियाबाट नेपाल फर्किएका हुन्।

झापामा १२ वर्षदेखि सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ। चिकित्सकहरूका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने एक प्रकारको संक्रामक रोग हो। मसिनो धागो आकारको जुकाजस्तै परजीवीको संक्रमण यस्तो रोग लाग्छ। संक्रमण भएको आठदेखि १३ महिनामा मात्र रोगका लक्षण देखा पर्छ। यो रोग लागेकाको खुट्टा, अण्डकोष र स्तन सुन्निन्छ।

प्रकाशित: १६ वैशाख २०८१ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast