शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी दिगो शान्ति कायम हुँदैन : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस ८ वैशाख २०८१ १७:३९ | Saturday, April 20, 2024
शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी दिगो शान्ति कायम हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने बताएका छन्। नववर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पुर्‍याउन केन्द्रित हुनुपर्ने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख गर्दै आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सञ्चार जगतले पनि प्रयत्न गर्नुपर्ने बताए। उनले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्न पत्रकारसँग आग्रह गरे। ‘सामाजिक आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि अबको मुख्य कार्यभार हो’,उपप्रधानमन्त्री श्रेष्ठले भने।

संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दीगो शान्ति कायम हुन नसक्ने बताए। पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए।

मुलुकको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको उल्लेख गर्दै उनले जिल्लाको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताए। सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरेका थिए।

प्रकाशित: ८ वैशाख २०८१ १७:३९ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast