विश्वासको मत लिनुअघि गण्डकीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

हिमाल प्रेस ५ वैशाख २०८१ १०:०३ | Wednesday, April 17, 2024
विश्वासको मत लिनुअघि गण्डकीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। आज बिहान बालुवाटार पुगेर अधिकारीले प्रचण्ड भेटेका हुन्।

अधिकारीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन्। उनले आउँदो वैशाख १० मा अधिकारीले विश्वासको मत लिँदैछन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

वैशाख ७ गते अधिवेशन बोलाउन सिफारिस पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छ। प्रदेशबाहिर रहेका प्रदेश प्रमुख बुधवार पोखरा फर्किनेछन्। प्रदेश प्रमुख फर्किएपछि आजै अधिवेशन आह्वान गर्ने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले चैत २८ गते सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो। अर्को पेसी वैशाख १० लाई तोकिएको छ। तर, मुख्यमन्त्रीले त्यस अगावै विश्वासको मत लिने तयारीमा जुटेका छन्।

एमाले संसदीय दलका नेता अधिकारीले सभामुख धिताललाई समेत माओवादी दलको सदस्यमा गणना गरेर चैत २५ गते मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख भट्टले पनि त्यही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, एमालेको २२, माओवादीको ८ (सभामुखसहित), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ र राजीव गुरुङ (दीपक मनाङे) छन्।

बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ। खगराज अधिकारी नेतृत्वको सरकारलाई एमाले, माओवादी र दीपक मनाङेको समर्थन छ।

प्रकाशित: ५ वैशाख २०८१ १०:०३ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast