मलेसिया पुगेका चार नेपाली ‘अवैध’ रूपमा काम गर्न बाध्य

हिमाल प्रेस २७ चैत २०८० ११:०९
156
SHARES
मलेसिया पुगेका चार नेपाली ‘अवैध’ रूपमा काम गर्न बाध्य

काठमाडौंँ- पाँच महिनाअघि म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका चारजना नेपाली लुकेर काम गरिरहेका छन्। ओखलढुंगाका युवराज घिमिरे, दाङका वसन्त रावत, सुनसरीका वसन्त चौधरी र राजेन्द्र चौधरी लुकेर काम गर्न बाध्य भएका हुन्। नासा हुम्यान रिसोर्सेज प्रालिलाई प्रतिव्यक्ति २ लाख ९० हजार रुपैयाँ तिरेर उनीहरू सुरक्षा गार्डमा काम गर्न मलेसिया गएका थिए।

म्यानपावरले उनीहरूलाई तारे होटलकाे सुरक्षा गार्डका काम लगाइदिने आश्वासन दिएर मलेसिया पठाएको थियो। मलेसिया पुगेपछि सामान्य होटलको सरसफाइको काम गर्नुपरेको घिमिरेले बताए।

घिमिरेले सामाजिक सञ्जालमार्फत हिमाल प्रेससँग भने, ‘नेपालमा एउटा काम भनेर मलेसिया पुगेपछि अर्कै रोजगारीमा लगाइदिए।’ म्यानपावरका निर्देशक युवराज गुरुङसँग सम्पर्क गर्दा भोलिभोलि भन्दै टारेको उनको भनाइ छ।

सोही कारण अवैध रूपमा बसेर काम गर्न बाध्य भएको उनले बताए। आफूहरूले पटकपटक आग्रह गरेवछि  म्यानपावरका सञ्चालक गुरुङ र होटलका साहुले रक्सी खाएर होहल्ला गरेको भनेर त्यहाँको प्रहरीलाई उजुरी दिएको घिमिरेको आरोप छ। चारैजनाले कि नेपाल पठाउनुपर्‍यो कि सुरक्षागार्डको काम लगाउनुपर्‍यो भन्दा गुरुङले जेल पठाइदिन्छौँ भनेर धम्की दिएको बताएका छन्। सोही कारण उनीहरूले लुकेर काम गर्नुपरेको हो।

‘अर्कै काम  गर्न थालेपछि हामी मलेसियाको कानुनअनुसार  अवैध भइसकेका थियौँ। त्यसमा पनि म्यानपावरका सञ्चालक गुरुङ र होटल सञ्चालकले हामीलाई रक्सी खाएर होहाल्ला गरेको आरोपमा प्रहरीमा उजुरी गरेपछि भाग्न बाध्य भयौँ’, घिमिरेले भने।

म्यानपावरका गुरुङ र होटल साहुले मिलेर उजुरी गरेपछि पोखराका एक नेपालीको सहयोगमा अहिले अवैध भएर काम गरिरहेको उनको भनाइ छ। पोखराका ती नेपालीलाई प्रतिव्यक्ति तीन हजार रिग्रेट तिरेको उनीहरू बताउँछन्।

म्यानपावरका सञ्चालक भने गुरुङ भने मलेसियामै बस्ने गरेका छन्। म्यानपावरकी म्यानेजर मालती चौधरीले भने मलेसिया कानुनविपरीत काम गरेपछि उनीहरू लुकेर बसेको बताइन्। उनले भनिन्, ‘ उनीहरू अवैध भइसकेका छन्। उनीहरूका बारेमा म्यानपावर जिम्मेवार छैन।’

वैदेशिक रोजगार विभागमा नासा हुम्यान रिसोर्सेजविरुद्ध ठगीको धन्दा चलाइरहेको उजुरी परेको छ। विभागका महानिर्देशक डन्डुराज घिमिरेले भने, ‘नासा हुम्यान रिसोर्सेज प्रालिले मलेसिया वैदेशिक रोजगारीमा लगेका धेरै कामदारले समस्या र अलपत्र परेको भनेर उजुरी दिएका छन्।’ उजुरीका सम्बन्धमा छानिबन भइरहेको उनले बताए।

प्रकाशित: २७ चैत २०८० ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast