प्रौढमा पढ्ने इच्छा

हिमाल प्रेस १९ चैत २०८० ९:४२
6
SHARES
प्रौढमा पढ्ने इच्छा
पर्वत- पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएका छन्।
दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसईई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएका हुन्।
उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेका छन्।बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेका छ।

भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसईई परीक्षामा सहभागी हुन्। विसं २०४६ मा उनको विवाह भयो। कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो।

त्यही बेला उनी सुत्केरी भएर छोरा जन्मिए। सुत्केरी भएपछि परीक्षा दिन त पाइनन् नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो।

पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भइन्। कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसईईमा सहभागी हुन्।
पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताइन्।

उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका–५ उरामको चन्द्र माविमा अध्ययन गरेका थिए।
पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ।
भुसालका छोरा र छोरीबाट तीन नातिनातीनासमेत छन्।

‘छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु’, उनले भने, ‘एसईईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ।’
भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि थिए। उनले पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बनिन्।

भुसालले अहिले सक्रिय राजनीति गर्दै आएकी छन्। उनले नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला संघ बिहादीको कोषाध्यक्षसमेत रहेका छन्।
भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा पनि काम गरिसकेकी छन्। कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेविका छाडेकी छन्।

उनले २०४८ सालबाटै नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी हुन्।
‘राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो’, उनले भनिन्। घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताइन्।
भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेसका नेता छन्। उनी नेपाली कांग्रेस पर्वतको सहसचिव तथा संगठन विभाग प्रमुख हुन्।

‘सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन’, श्रीमान् तिलकले भने, ‘उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु।’
श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताए।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसईई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ।
कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उनले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताए।

पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षका शक्ति अधिकारीले पनि एसईई परीक्षा दिएका छन्।
अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका विद्यार्थी छन्। लक्ष्मीप्रसाद सापकोटा/रासस

लक्ष्मीप्रसाद सापकोटा/रासस

प्रकाशित: १९ चैत २०८० ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast