विदेश जाने कामदारलाई एक घण्टाभित्रै श्रम स्वीकृति, रातभर पनि काम

हिमाल प्रेस १८ चैत २०८० १३:१२ | Sunday, March 31, 2024
विदेश जाने कामदारलाई एक घण्टाभित्रै श्रम स्वीकृति, रातभर पनि काम

काठमाडौंँ–वैदेशिक रोजगार कार्यालय ताहचलले दैनिक ३ सिफ्टमा श्रम स्वीकृति दिन थालेको छ। वैदेशिक रोजगार विभागले हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्मको ३ सिफ्टमा श्रम स्वीकृति जारी गर्न थालेको हो।

वैदेशिक रोजगार कार्यालयमा हाल दैनिक एक हजार ५ सयदेखि २ हजार श्रमिकले पुनः श्रम स्वीकृति र १ हजार जनाले नयाँ श्रम स्वीकृति माग गर्ने गरेको जनाएको छ। तीन ३ सिफ्टमा श्रम स्वीकृति जारी गर्न थालेपछि सेवाग्राहीलाई समस्या नहुने कार्यालयले जनाएको छ।

एक घण्टाभित्रै श्रम स्वीकृति जारी गर्ने काम भएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख दिकपराज नेपालले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज बनाउन ३ सिफ्टमा श्रम स्वीकृति वितरण गर्ने काम आजबाटै सुरु भएको छ। आजदेखि २४ घण्टा सेवाग्राहीले श्रम स्वीकृतिका लागि आवेदन दिन मिल्ने व्यवस्था पनि गरिएको उनको भनाइ छ।

कम्प्युटरहरुमा र्‍याम र एसएसडीको क्षमता बढाएर सहजरूपमा बिहान १० बजेदेखि दिने टोकन प्रणाली दिउँसो १ बजेसम्म बढाएको कार्यालयले जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी कार्यालयमा कर्मचारी तथा प्राविधिक पक्ष मजबुत बनाउन निर्देशन दिएपछि कार्यालयले दैनिक ३ सिफ्टमा श्रम स्वीकृति जारी गर्न थालेको हो।

शनिबार र सार्वजनिक बिदाका दिनमा समेत श्रम स्वीकृति जारी गरिने कार्यालयले जनाएको छ। फेमिसमा हाल विभागसहित २० वटा कार्यालय जोडिएका छन्। त्यसले प्रणालीमा सेवाग्राहीको चाप बढाएको छ। प्रणाली अपडेट नभइ बारम्बार समस्या आउँदा पुनः श्रम स्वीकृतिभन्दा संस्थागत अर्थात म्यानपावर कम्पनीले पेश गर्ने फाइलमा बढी समस्या देखिएको वैदेशिक रोजगार व्यवसायीको गुनासो थियो।

प्रकाशित: १८ चैत २०८० १३:१२ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast