नास्तिकता फैलाउने अमेरिकी नीति छैन : राजदूत थम्पसन

हिमाल प्रेस १४ चैत २०८० १३:२० | Wednesday, March 27, 2024
नास्तिकता फैलाउने अमेरिकी नीति छैन : राजदूत थम्पसन राप्रपा अध्यक्ष लिङ्देनसँग शिष्टचार भेटवार्तामा अमेरिकी राजदूत थम्पसन। तस्बिर : राप्रपा

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र त्यस्तो नीति पनि नभएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटमा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्।

बुधबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा राजदूत थम्पसनले अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको स्पष्ट पारेका थिए।

राप्रपाले केही दिनदेखि अमेरिकाले नेपालमा नास्तिकता फैलाउने काम गरेको आरोप सार्वजनिक रूपमा लगाउँदै आएको थियो।

राप्रपा अध्यक्ष लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण रूपमा कुराकानी भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार राजदूतलाई अध्यक्ष लिङ्देनले अमेरिकी संसद्‌मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा जिज्ञासा राखेका थिए।

त्यस प्रसंगमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गरेका थिए। साथै नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका मूर्ति नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले जानकारी दिएका थिए।

छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराएका थिए।

प्रकाशित: १४ चैत २०८० १३:२० | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast