अब बिदाको दिनमा पनि श्रम स्वीकृति

हिमाल प्रेस ८ चैत २०८० २०:३४ | Thursday, March 21, 2024
अब बिदाको दिनमा पनि श्रम स्वीकृति

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन्। बिहीबार साँझ मन्त्री आफैँ ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन्।

मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका विषयमा कर्मचारीसँग जानकारी लिएका थिए। साथै श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको विषयमा पनि कर्मचारीसँग उनले सोधपुछ गरे।

श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यसअघि नै निर्देशन दिइसकेका छन्। मन्त्रीको निर्देशनपछि कार्यालयको २० वटा कम्प्युटर अपग्रेड  गरिएको छ। कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाइएको छ।

त्यस्तै श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ। हाल संस्थागत श्रम स्वीकृतिको लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ। त्यस्तै व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृति गर्ने व्यवस्था छ। तर अबदेखि व्यक्तिगत श्रम स्वीकृतितर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ।

त्यस्तै प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, बिदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाइने मन्त्रालयको तयारी छ।

यसका साथै दिउँसो १ बजे देखि मात्रै टोकट वितरण गर्ने व्यवस्था गर्ने तयारी गरिएको छ। बिहान ९ बजे देखि  दिउँसो १ बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर स्लो हुने भएकाले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गर्ने तयारी गरिएको हो।

हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन्। त्यस्तै, एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन्। कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ।

कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिन भित्रमा कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिँदै आएको छ। तीन दिनभित्र कागजपत्र नबुझाएकाले नयाँ टोकन लिनुपर्ने व्यवस्था छ।

प्रकाशित: ८ चैत २०८० २०:३४ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast