रुसी सेनामा मृत्यु भएका नेपालीको शव पहिचान गर्न आफन्तको ‘डीएनए’ परीक्षण गरिँदै

हिमाल प्रेस ७ चैत २०८० २२:०७ | Wednesday, March 20, 2024
रुसी सेनामा मृत्यु भएका नेपालीको शव पहिचान गर्न आफन्तको ‘डीएनए’ परीक्षण गरिँदै एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डीएनए’ नमुना पठाइदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मंगलबार सात जनाको र आज (बुधबार) एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ।

विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डीएनए’ परीक्षणका लागि पठाएको हो।

रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशंका गरिएको छ। मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत आग्रह गरेको थियो ।

नेपाल प्रहरीबाट डीएनएको रिपोर्ट आएलगत्तै उक्त विवरण मस्को पठाइने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए। उनका अनुसार विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकीन गरिपाउँ भनेर आवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले यसअघि पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १७ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

प्रकाशित: ७ चैत २०८० २२:०७ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast