कांग्रेसलाई रास्वपाले भन्यो : ‍निराधार आरोप लगाएर हुँदैन, आधार भए हामी आफैँ राजीनामा दिन्छौँ

हिमाल प्रेस २ चैत २०८० १८:०४ | Friday, March 15, 2024
कांग्रेसलाई रास्वपाले भन्यो : ‍निराधार आरोप लगाएर हुँदैन, आधार भए हामी आफैँ राजीनामा दिन्छौँ रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल।

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ। कांग्रेसले यसबारे प्रधानमन्त्रीले जवाफ नदिई संसद् अघि बढ्न नदिने भन्दै गृहमन्त्रीको राजीनामा पनि मागिरहेको छ।

यसै सन्दर्भमा रास्वपाका उपसभापतिसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री लामिछानेप्रति कुनै आधारविना आरोप लगाएको भन्दै जवाफ दिएका छन्।

शुक्रबार संसद् बैठकपछि बाहिरिनेक्रममा अर्यालले भने, ‘हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीविरुद्ध साथीहरूले सहकारीसम्बन्धी केही प्रश्न उठाउनु भएको छ। हिजो सत्ता पक्ष हुँदै गर्दा सबै ठिक प्रतिपक्षमा जाने बित्तिकै सबै बेठिक भन्ने त भएन नि । हाम्रो पार्टी सभापतिलाई आरोप चाहिँ कहाँ लागेको छ ? कसले लगाएको छ ? राजीनामा दिनुपर्ने कारण त होला नि । मन्त्रीहरूले राजीनामा माग्ने बित्तिकै त दिनुपर्ने होइन नि । केही आधार भए हामी त राजीनामा आफैँ दिन्छौँ।’

उनले कांग्रेसले आफ्ना सभापतिप्रति निराधार आरोप लगाएको भन्दै केही कुरा जानकारीमा राख्न पनि आग्रह गरेका छन्।

‘हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्यूप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ । निराधार प्रश्न गर्न त पाइन्छ । साथीहरूले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ,’ उनले भने, ‘रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरूलाई थाहा छ । कम सेकम त्यति त जानकारीमा राखेर हेर्नुपर्ला नि।’

प्रकाशित: २ चैत २०८० १८:०४ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast