सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह

हिमाल प्रेस ११ पुष २०७९ १२:३२ | Monday, December 26, 2022
सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह

बैतडी- भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ। छिमेकी देशमा संक्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ।

जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। भीडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ।

सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क, स्यानिटाइजरको प्रयोग गर्न र भौतिक दूरी कायम राख्न आग्रह गरिएको छ। कोभिड–१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुट भएकाले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरिएको छ।

जोखिम बढ्दै गएकाले सीमाक्षेत्रमा सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोनाको खोप कार्ड जाँच गरी मात्र वारपार गर्न दिइएको छ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख १८ हजार ७ सय १४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार ८ सय ७२ जनामा संक्रमण भइसकेको छ। सङ्क्रमणकै कारण यस प्रदेशमा ६ सय ३५ जनाको ज्यान गइसकेको छ।

प्रकाशित: ११ पुष २०७९ १२:३२ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast