काठमाडौँ- मोरङस्थित उर्लाबारी नगरपालिका-१ चारघरेमा मंगलबार भेटिएको हिउँ चितुवा (बयस्क भाले) सदर चिडियाखाना जावलाखेल ललितपुरमा ल्याइएको छ।
नेपालमा समुद्री सतहभन्दा दुई हजार मिटरदेखि ६ हजार मिटरको उचाइमा पाइने हिउँ चितुवा १४६ मिटर उचाइको चारघरेको बाँसझ्याङमा भेटिएको थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी एवम् वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहका अनुसार पाटे बाघको वासस्थान रहने उचाइमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय हो।
उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको र बाहिर कुनै किसिमको चोट नभएको शाहको भनाइ छ।
नेपालमा हिउँ चितुवा पूर्वकञ्चनजंघादेखि पश्चिम अपि नम्पा संरक्षण क्षेत्रका हिमाली भेगमा पाइन्छ। नेपालमा हिउँ चितुवाको संख्या ३०१ देखि ४०० को संख्यामा रहेको विभागको तथ्यांक छ। विश्वमा भने यसको संख्या ३ हजार ९२१ देखि ६ हजार २९० वटा रहेको उल्लेख छ। हिउँ चितुवा नेपालमा संरक्षित जनावरमा पर्दछ।