गोली प्रहारबाट दुई युवा मारिएको घटनाप्रति निगरानी समितिको निन्दा

हिमाल प्रेस १५ पुष २०८० ८:५८
28
SHARES
गोली प्रहारबाट दुई युवा मारिएको घटनाप्रति निगरानी समितिको निन्दा ललितपुरको बालकुमारीमा शुक्रबार भागभाग गर्दै आन्दोलनकारी। तस्बिर : रासस

काठमाडौँ- जवाफदेहिता निगरानी समितिले अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ। ललितपुरको बालकुमारीमा शुक्रबार दक्षिण कोरियाली भाषा परीक्षा दिन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका युवामाथि प्रहरीले बल प्रयोग गर्दा दुवै जनाको ज्यान गएको थियो।

समितिले सरकारको संवेदनहीन शैलीका कारण दुई युवाको बाँच्न पाउने संवैधानिक हक खोसिनुका साथै शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने एवं सम्बन्धित निकायसमक्ष आफ्नो माग राख्न पाउने नागरिकका मौलिक र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको हनन भएको ठहर गरेको छ।

साथै समितिले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कडाभन्दाकडा कारबाही गर्न, प्रहरी प्रशासनलाई जवाफदेही बनाउन र मृतक परिवारलाई उचित क्षतिपूर्ति एवं घाइतेलाई स्वास्थ्य उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अपिल गरेको छ।

समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दक्षिण कोरियामा रोजगारीका लागि जान चाहेका व्यक्तिले आवेदन फाराम भर्ने माग राख्दा प्रहरी प्रशासनको लापरबाही, चरम दमन तथा घातक गोली प्रहारबाट दुईजना युवकको मृत्यु एवं त्यस क्रममा कैयौँ व्यक्ति घाइते भएको घटनाप्रति निगरानी समिति घोर निन्दा एवं भर्त्सना गर्दछ।’

साथै समितिले सरकारको भीड नियन्त्रणमा अपनाउनुपर्ने उपाय, संयमता तथा दक्षतामाथि गम्भीर प्रश्न उठेको जनाएको छ। प्रहरी प्रशासनले शान्तिपूर्ण रूपमा उत्रिएका प्रदर्शनकारीमाथि घातक गोली प्रहार गर्नु अनुचित मात्र नभई गैरजिम्मेवारी पनि रहेको समितिको विज्ञप्तिमा उल्ल्लेख छ।

‘यस घटनामा संयुक्त राष्ट्रसंघको कानुन कार्यान्वयन निकायको बल तथा हतियार प्रयोगका आधारभूत सिद्धान्त तथा नेपाल प्रहरीको निर्देशिकासमेतको पालन नगरेको देखिन्छ’, समितिले भनेको छ।

प्रकाशित: १५ पुष २०८० ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast