गोरखा पुगेर प्रधानमन्त्रीले भने : बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन

हिमाल प्रेस ११ पुष २०८० १५:५२ | Wednesday, December 27, 2023
गोरखा पुगेर प्रधानमन्त्रीले भने : बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गरे।

‘बूढीगण्डकी आयोजना के होला ? कसो होला ? भन्ने भइरहेको थियो”, प्रधानमन्त्री दाहालले भने, ‘केही समयअघि मन्त्रिपरिषद्‌बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ।’

एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उनको भनाइ छ। ‘यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र सम्बृद्धिका निम्ति तथा रोजगारीको अवसर पनि हुन्छ,’ उनले भने।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसदसमेत रहेका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको उल्लेख गरे। उनले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताए।

प्रधानमन्त्री दाहालले आँपपिपल अस्पताललाई ५० शय्याका रुपमा विकास गरे जिल्लाको स्वास्थ्य क्षेत्रमा आमूलपरिवर्तन ल्याउन सकिने र त्यसका लागि आधार तयार पार्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ११ पुष २०८० १५:५२ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast