काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना गरेको छ।
प्रतिष्ठानका उपकुलपति डा.भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलोपटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गरिएको जानकारी दिए।
यसअघि नेपालमा ब्रेनको उपचार भएपनि अध्ययन अनुसन्धानका लागि कुनै निकाय थिएनन्। उनी भन्छन्,‘केन्द्रमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक पनि राख्ने र कस्ता बिरामी आउँछन् भनी त्यसको पनि अध्ययन गरिनेछ।’
केन्द्रमार्फत नै यहि मंसिर २४ गतेदेखि मतिष्क ट्युमरको उपचारका लाग विशेष क्लिनिक सेवा सुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा.श्रवणकुमार थापाले जानकारी दिए।
उनका अनुसार हाललाई सो सेवा साताको दुई दिन आइतबार र बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्मसञ्चालन गरिएको छ।
अस्पतालमा गत आइतबारदेखि राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत विशेष न्यूरो स्पाइन क्लिनिक सेवा पनि सञ्चालन गरिएको छ। सो सेवा पनि आइतबार र बुधबार विहान १० देखि १ बजेसम्म सञ्चालन भइरहेको छ।
थापाले टाउकाको ट्युमर र मेरुदण्डको उपचार निःशुल्क गर्न सरकारसँग पहल भइरहेको बताए।