प्रधानमन्त्रीले भने : रुसी सेनामा दुई सय नेपाली कार्यरत छन्

हिमाल प्रेस २५ मंसिर २०८० १३:४३ | Monday, December 11, 2023
प्रधानमन्त्रीले भने : रुसी सेनामा दुई सय नेपाली कार्यरत छन् फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा दुई सय नेपाली युवा कार्यरत रहेको जानकारी दिएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पत्रकारहरूसँग कुरा गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन्।

प्रचण्डले रुसी सेनामामात्र नभई युक्रेनी सेनामा पनि नेपाली युवा कार्यरत रहेको जानकारी दिए। उनले फरक देशबाट एकै देशका युवा लडिरहेको भन्दै चिन्ता व्यक्त गरे।

प्रधानमन्त्रीले भने, ‘रुसमा मात्रै त्यहाँको सेनामा आवद्ध भएर कम्तिमा दुई सय नेपाली युवा छन् भन्ने तथ्यांक आयो। युक्रेनी सेनामा पनि नेपाली छन् भन्ने आयो। सकारले यसबारे थप आधिकारिकता पुष्टि गरी युवालाई स्वदेश फिर्ताको पहल गर्दैछ।’

त्यस्तै प्रधानमन्त्री प्रचण्डले इजरायलमा विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई स्वदेश फर्काउन सरकारले सबै किसिमका संयन्त्र परिचालन गरेको पनि बताए।

प्रचण्डले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग जोडेर सरकारको बद्‌नाम गराउनेहरू सक्रिय भएको गुनासो पनि गरे। उनले आफूले यसबारे जाँचबुझका लागि निर्देशन दिइसकेको बताए। प्रचण्डले आफू दुबई गएको समयमा एनसेल खरिदबिक्रीबारे जानकारी पाएको र लगत्तै मुख्यसचिवलाई राखेर एनसेलको करलगायत बारे बुझ्न भनेको दाबी गरे।

उनले भने, ‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो। यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाए। निर्देशन जारी गरेँ।’

त्यस्तै उनले गठबन्धनसम्बद्ध दलका शीर्ष नेतासँग पनि यसबारे छलफल गरिसकेको बताए। ‘यस विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वभाविक छैन, यहाँ गढबढ छ भनियो। क्याबिनेटबाट निर्णय गरियो,’ उनले भने, ‘तर केही मिडियामा एकसेल प्रकरणमा सरकारले अर्बौँ भ्रष्टाचार गरेको आरोप लगाइँदै छ। यो दुस्प्रचार हो।’

प्रकाशित: २५ मंसिर २०८० १३:४३ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast