काठमाडौँ- शिक्षक सेवा आयोगले लिने शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा निरन्तर खस्किँदै जान थालेको छ। अध्यापन अनुमतिपत्रमै फितलो नतिजा आउँदा शिक्षण पेसामा योग्य र दक्ष जनशक्तिको आकर्षण घटेको स्पष्ट हुन्छ। परिणामस्वरूप शैक्षिक प्रणालीमाथि धक्का पुग्ने चिन्ता सरोकारवालाहरूको छ।
आयोगले गत कात्तिक १८ गते लिएको निम्न माध्यमिक विद्यालय (निमावि) तहको शिक्षक लाइसेन्स परीक्षाको नतिजा मंगलबार प्रकाशित गर्दा जम्मा ८.६१ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। अब आयोगले लिने उक्त तहको स्थायी विज्ञापनमा तिनै ८.६१ प्रतिशत परीक्षार्थी मात्रै सहभागी हुन पाउनेछन्।
शिक्षक सेवा आयोगको प्रदेशगत नतिजाअनुसार कोशीमा २४ हजार ३९ जनाले परीक्षा दिएकामा २ हजार १३० परीक्षार्थी उत्तीर्ण भए। मधेश प्रदेशका २२ हजार ८५५ परीक्षार्थीमध्ये १ हजार ६१४ जना उत्तीर्ण भए।
बागमतीबाट १७ हजार ६५१ जनाले परीक्षा दिएकामा २ हजार २ जना उत्तीर्ण भए। गण्डकी प्रदेशबाट ११ हजार ८९७ जनाले परीक्षा दिएकामा १ हजार १५२ जना परीक्षार्थी उत्तीर्ण भए। त्यस्तै लुम्बिनीबाट २९ हजार २३० जनाले परीक्षा दिएकामा २ हजार ८६३ जना उत्तीर्ण भएका छन् भने कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएकोमा १ हजार ५७४ जना उत्तीर्ण भए। सुदूरपश्चिम प्रदेशबाट २१ हजार १८६ जनाले परीक्षा दिएकामा १ हजार ६७२ जना उत्तीर्ण भए।
यसअघि २०७७ सालमा तीनै तह (माध्यमिक, निम्न माध्यमिक र प्राथमिक) को लाइसेन्स परीक्षा भएको थियो। त्यतिबेला पनि नतिजा कमजोर थियो। अध्यापन अनुमतिपत्र लिएर मूल परीक्षामा सहभागी भएका परीक्षार्थीको नतिजा पनि दयनीय छ।
०७७ मा मावि तहको नेपाली विषयको परीक्षामा जम्मा १७.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए भने निमावि तहमा ४.२० प्रतिशत मात्र। सामाजिक, विज्ञान, गणित विषयमा १० प्रतिशतभन्दा माथि परीक्षार्थी उत्तीर्ण हुन सकेका थिएनन्। त्यसैगरी प्राथमिक तहमा कुल सहभागीमध्ये ५.८३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।
शिक्षाविद् तथा सरोकारवालाले नतिजा लगातार खस्कनुको मुख्य कमजोरी विद्यार्थीको रहे पनि सरकारको अदुरदर्शी नीति पनि उत्तिकै जिम्मेवार रहेको टिप्पणी गर्छन्। शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला लाइसेन्स परीक्षा नतिजाले वर्तमान शिक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जाएको बताउँछन्। नतिजाको सन्देशले मुलुकको शैक्षिक स्तर घटेको प्रस्ट भएको उनको भनाइ छ।
‘अहिले जुन ढंगबाट हाम्रा विश्वविद्यालयमा पढाएर पास गर्न थालियो। मूल्यांकनको चिन्तन हाल्यौँ, लेटर ग्रेडिङ हाल्यौँ अथवा हाम्रा विद्यार्थीलाई शिक्षकले कक्षा पास गर्न ‘नगर त’ भनेर धम्क्याउन थाले ती सबैको परिणाम शैक्षिकस्तर घटेछ भन्ने सन्देश हो,’ कोइराला भन्छन्।
उनले परीक्षा पास गर्न विद्यार्थी जिम्मेवार हुनुपर्ने बताए। परीक्षामा आफू फेल हुनुको कारण विषयवस्तुको ज्ञान नपुगेको, शिक्षण कलाबारे जानकारी नभएको र प्रश्नको उत्तर दिने सीप नभएको बताए।
‘शिक्षक हुन जान्छु भनेर दरखास्त हाल्ने मान्छे जो हुन् तिनको बुद्धि पुगेन। उनीहरूले तीनवटा कुरा जान्नुपर्छ। विषयको ज्ञान, शिक्षण कला र प्रश्नको उत्तर दिन,’ कोइरालाको सुझाव छ, ‘मुख्य समस्या परीक्षा दिने विद्यार्थीको हो। उनीहरूलाई पढाउनेले गतिलो पढाएन भनेर दोष लगाउन पाइएला तर विद्यार्थीले नै नपढेका हुन्।’ त्यसो त आयोगले यो खालको प्रश्न आउँछ, योभित्रबाट प्रश्न आउँछ भनेर सबै दिएको हुन्छ। त्यसैले शिक्षक सेवा आयोगलाई दोष लगाउने ठाउँ नरहेको कोइरालाले बताए।
अर्का शिक्षाविद् बालचन्द्र लुइटेल पनि शिक्षक लाइसेन्स परीक्षा नतिजा खस्किनुमा विद्यार्थी नै दोषी देख्छन्। पाठ्यक्रम अपडेट नहुँदा पनि समस्या आएको लुइटेलको तर्क छ। उनले विद्यार्थीमा कुनै पनि विषयवस्तुको गहिराइमा गएर अध्ययन गर्ने बानी नभएको बताए।
‘समयअनुसार हाम्रो पाठ्यक्रम अपडेट भएका छैनन्। आउटडेटेड भए। पढ्ने मान्छे पनि त्यस्तै छन्। नोट मात्र पढेर पास गर्न खोज्छन्। गहिरो कुरा आयो भने फेल भइहाल्छन् नि,’ लुइटेलले भने।
लुइटेल शिक्षक लाइसेन्स परीक्षा नतिजा कमजोर हुनुमा उच्च शिक्षाको पनि भूमिका रहेको बताउँछन्। शिक्षाविद् लुइटेलले राम्रो नतिजाका लागि उच्चशिक्षा सुधारमा ध्यान दिनुपर्नेमा र शिक्षक, विद्यार्थी सबैको राम्रो भूमिका हुनुपर्ने बताए। उनी भन्छन्, ‘उच्चशिक्षा गतिलो भएन। सुधार गर्नुपर्यो। उच्चशिक्षामा प्राध्यापक, विद्यार्थी सबैको राम्रो भूमिका चाहियो अनि मात्र हुन्छ। राज्यले नपढी पास हुने परिस्थिति बनाएपछि यस्तै फेल हुने शिक्षक निकाल्छ।’
स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराई लाइसेन्स परीक्षा नतिजा कमजोर हुनुको कारण एकतर्फी शिक्षा प्रणाली र विद्यार्थीको मनोवृत्ति रहेको बताउँछन्।
‘लाइसेन्सको नतिजा कमजोर छ। कमजोर नतिजा हुनुमा हाम्रो शिक्षा प्रणाली पनि एकतर्फी छ,’ भट्टराईले भने, ‘पढे पास नपढे फेल भइन्छ भन्ने मनोवृत्ति नै विद्यार्थीसँग भएन। जस्ता विद्यार्थी पनि पास हुने परम्परा छ। यसले पनि नतिजामा प्रभाव पारेको छ।’ उनले शिक्षक सेवा आयोगले पनि प्रश्न निर्माण गर्दा लक्षित समूहलाई आधार बनाउनुपर्ने बताए।
शिक्षक सेवा आयोगका उपसचिव सुदर्शन मरहठ्ठा पनि लाइसेन्स परीक्षाको नतिजा खस्कनुको मुख्य कारण विद्यार्थी नै भएको बताउँछन्। ‘परीक्षार्थीले आयोगको पाठ्यक्रमअनुसार तयारी गरेनन्। अध्ययन पुगेन। तयारीबिना परीक्षा दिए। सोही कारण नतिजामा असर परेको हो’, उनले भने।