टीकापुर हत्याकाण्ड : राष्ट्रपति कार्यालयसहित सरकारका नाममा कारण देखाऊ आदेश

हिमाल प्रेस ७ मंसिर २०८० १५:४७ | Thursday, November 23, 2023
टीकापुर हत्याकाण्ड : राष्ट्रपति कार्यालयसहित सरकारका नाममा कारण देखाऊ आदेश सर्वोच्च अदालत

काठमाडौँ– टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहा गर्ने सरकारको नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिने निर्णय गरेका थिए।

उक्त निर्णयलगत्तै टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश दिएको हो। यसअघि उक्त निवेदन पटकपटक पेसीमा चढाइए पनि विभिन्न कारण सुनुवाइ हुन सकेको थिएन।

शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते उक्त निवेदन दिएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए।

२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए। रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएका इन्स्पेक्टर बोहराकी श्रीमती शारदाले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उक्त रिटको सुनुवाइमा ढिलाइ भएकाले प्राथमिकता दिन माग राखी उनले थप निवेदन पनि दिएकी छन्। हत्या अभियोगमा दोषी ठहर भएको व्यक्तिको कैद मिनाहा गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना पनि भइरहेको छ।

प्रकाशित: ७ मंसिर २०८० १५:४७ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast