राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन

हिमाल प्रेस २७ कार्तिक २०८० १६:१०
4
SHARES
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्ष, प्रतिष्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ।

कार्तिक २३ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकता अनुरूप दक्ष, प्रतिष्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनको लागि उक्त समिति (गठन) आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको हो।

उक्त प्रतिष्ठानमा एक अधिकार सम्पन्न सञ्चालक समिति रहने र प्रतिष्ठानको प्रशासकीय प्रमुखको रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था रहेको मन्त्रालयलका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।

प्रतिष्ठानलाई श्रम बजारको माग बमोजिमको प्रशिक्षणको विषय पहिचान र छनोट गर्ने, प्रशिक्षणको पाठ्यक्रम तथा मापदण्ड स्वीकृत गरी लागु गर्ने, प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने गराउने जिम्मेवारी दिइएको छ।

यसैगरी बाह्य तालिम प्रदायक संस्थाहरूको दर्ता, आबद्धता, सूचीकरण, अनुगमन निर्देशन र आवश्यक समन्वय तथा नीतिगत व्यावस्था गर्ने, प्रतिष्ठानबाट सन्चालन हुने प्रशिक्षणलाई अन्तराष्ट्रिय संघ संस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने, स्वदेशी रोजगारदाता कम्पनी, गन्तव्य मुलुक, तालिम प्रदायक अन्य संस्थासंग समन्वय गरी प्रशिक्षणको आवश्यक व्यवस्था मिलाउने सम्मको अधिकार प्रतिष्ठानलाई छ।

यस प्रतिष्ठानबाट आगमी दिनमा ६ महिना अवधि सम्मको व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गरिने छ। यस प्रयोजनका लागि पाठ्यक्रम तयार गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने सीपको परीक्षण गर्ने र प्रमाणपत्र जारी गर्ने कार्य समेत यो प्रतिष्ठानबाट गरिने प्रावधान राखिएको छ।

मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उल्लेखित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश २०८० राजपत्रमा प्रकाशित गरी लागू गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८० १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast