महाधिवेशनमा क्षति पुगेको खुलामञ्चको दुबो रोप्नमा जुटे कांग्रेस नेता-कार्यकर्ता

हिमाल प्रेस २९ कार्तिक २०८३ ९:५६ | Sunday, November 15, 2026
महाधिवेशनमा क्षति पुगेको खुलामञ्चको दुबो रोप्नमा जुटे कांग्रेस नेता-कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ। महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् ।

महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो । पार्टीले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो।

आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ। पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए। कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे। “महाधिवेशन स्थलको रूपमा हामीले खुल्ला मञ्च प्रयोग गर्दा बर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ । दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो । त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,” उनले भने।

उनले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए। सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको उनको भनाइ छ।

कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन्। महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतका कारण क्षति पुगेको देखेपछि त्यसलाई सुधार्न पार्टी आफैँ सक्रिय भएको उनले बताइन्। ‘यो ऐतिहासिक धरोहर हो । काठमाडौँको मुटुमा रहेको टुँडिखेलको आफ्नै महत्व छ। यसको अस्तित्व र सौन्दर्य जोगाउनु हाम्रो पनि कर्तव्य हो । कसैले भनेर मात्र होइन, आफ्नो जिम्मेवारी सम्झेर हामी यहाँ आएका हौँ,” उनले भनिन् ।

प्रकाशित: २९ कार्तिक २०८३ ९:५६ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast