भेडाच्यांग्रा बेच्न मुगुबाट ३६ दिन लगाएर म्याग्दी पुगे किसान, भन्छन् : बिक्दैनन् कि भन्ने पीर छ

हिमाल प्रेस २४ असोज २०८३ ७:४४ | Saturday, October 10, 2026
6
SHARES
भेडाच्यांग्रा बेच्न मुगुबाट ३६ दिन लगाएर म्याग्दी पुगे किसान, भन्छन् : बिक्दैनन् कि भन्ने पीर छ

काठमाडौँ- दसैंका लागि भेडाच्यांग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्।

प्रतिकूल मौसम, हिमपात र अवरूद्ध सडक छिचोल्दै लामो यात्रा गरेर बजारसम्म आइपुगे पनि भेडा च्याङ्ग्रा समयमै बिक्री हुने कि नहुने भन्ने पीरले उनीहरूलाई सताएको छ। मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले २०० भेडाच्यांग्रा खेदाएर ल्याएको हो।

त्यसमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन्। दसैंका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए।

‘यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,’ बिकले भने, ‘डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ। घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौं।’

शनिबार गलेश्वरबाट भेडाच्यांग्रा गाडीमा राखेर पोखरा लैजाने उनीहरूको योजना छ। तर, दसैं नजिकिँदै गर्दा बजारमा माग र बिक्री कस्तो होला भन्ने चिन्ता छ।

‘ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,’ बिकले भने।

डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्यांग्रा लिएर पोखरातर्फ लागेका छन्। उनीहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ गएका हुन्।

रोकायाको टोली घरबाट हिँडेको २२ दिन भइसकेको छ। भेडाच्यांग्रा पालन नै मुख्य पेसा भएकाले उनीहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न भेगका बजार पुग्छन्। तर, यसपालि बाढीपहिरोले यात्रा थप सास्तीपूर्ण भयो।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध भयो। यसले भेडाच्यांग्रा खेदाएर ल्याउने र सवारीसाधनमा ढुवानी गर्ने दुवै काम प्रभावित भए। कतिपय किसानले लामो दूरी पैदल हिँड्नुपर्‍यो। सडकको अवस्थाका कारण बजारसम्म पुग्न ढिलाइ भएको हो।

डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर १६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन्। समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर ल्याउन सहज छैन।

‘भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्‍याएर बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,’ उनले भने।

सडक अवरुद्ध हुँदा किसानलाई सास्ती

दसैं नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्यांग्रा बजार झर्न थालेका छन्। तर, प्रतिकूल मौसम र सडक अवरोधले यसपालि किसान तथा व्यापारीलाई समस्या भएको छ। डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्यांग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल छ।

मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्यांग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ। यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्यांग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए।

तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्यांग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ। जोमसोममा भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ।

कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइएको छ। गत वर्ष १८ हजार भेडाच्यांग्रा निकासी भएका थिए।

लागत बढ्यो

यात्रा लामो हुँदा किसान र व्यापारीको खर्च बढेको छ। मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ।

बेनी नगरपालिका–९ का डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्यांग्रा खरिदमा समस्या भयो। ‘किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्यांग्रा ल्याउन पाइएन,’ उनले भने। मुस्ताङमा आकार अनुसार भेडा प्रतिगोटा ३२ हजारदेखि ३५ हजार र च्याङग्रा प्रतिगोटा ४० हजारको हाराहारीमा खरिदबिक्री भइरहेको व्यापारीहरुले बताएका छन्।

बेनीमा भने भेडा प्रतिगोटा करिब ३६ हजार र च्याङ्ग्रा ४५ हजार पर्ने बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताए। ‘पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,’ उनले भने, ‘महँगो परे पनि दसैंमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ।’

मुस्ताङी भेडाच्यांग्राको ठूलो बजार पोखरा र काठमाडौं हुन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताए।

च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान

मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको बताए। मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्।

उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो। च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ। तर, च्याङ्ग्रापालनमा पनि अनेक चुनौती छन्। हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ। पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहारको अभाव हुने समस्या छ।

हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन्। दसैंको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्यांग्रा खेदाएर ल्याउँछन्।

तर, यसपालि प्रतिकूल मौसम र सडक अवरोधले उनीहरूको यात्रा लम्बिएको छ। लामो दूरीको पैदल यात्रा, थप खर्च र बिक्रीमा भएको ढिलाइले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ। रासस

प्रकाशित: २४ असोज २०८३ ७:४४ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast