काठमाडौँ- सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त भएका छन्।
संवेदनशील सूचना चुहाव गरेको आरोपमा निलम्बनमा परेका दाहाललाई गृह मन्त्रालयले शुक्रबार बर्खास्त गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए।
संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले उनलाई असोज १९ गते पदबाट निलम्बन गरेको थियो।
दाहाललाई शुक्रबारबाटै लागू हुनेगरी बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ।
‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति २०८३/०६/२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ गृह मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ।




