बाढीपहिरोबाट क्षति भएका सडक, पुल मर्मत गरी सञ्चालनमा ल्याउँदै सेना

हिमाल प्रेस १९ असोज २०८३ १५:०८ | Monday, October 5, 2026
बाढीपहिरोबाट क्षति भएका सडक, पुल मर्मत गरी सञ्चालनमा ल्याउँदै सेना

काठमाडौँ- नेपाली सेनाले बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल र खानेपानी लाइन मर्मत गरी आवागमन तथा सेवा सञ्चालनमा सहयोग गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले साेमबार दिएको जानकारीअनुसार कालीगण्डकी नदीको तटीय तथा आसपासका क्षेत्रमा बाढीपहिरोका कारण जोखिममा रहेका बस्तीका नागरिकलाई सेनाको हवाई साधनमार्फत स्थानान्तरण गर्नुका साथै राहत सामग्री ढुवानी र अवरुद्ध सञ्चार सेवा पुनःस्थापनाका लागि सरोकारवाला निकायसँगको समन्वयमा काम भइरहेको छ।

सेनाका अनुसार म्याग्दीमा पहिरोका कारण अवरुद्ध आनन्दबगर हुँदै लामागरा जाने सडक गुरु गोरख गुल्मबाट खटिएको टोलीले असोज १८ गते खुलाएको हो। सोही दिन बेनी नगरपालिका-६, कुडुलेमा स्थानीयवासीको सहकार्यमा खानेपानीको लाइन मर्मत गरी सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ।

त्यस्तै, सडक डिभिजनसँगको समन्वयमा मालढुंगा पुलको मर्मत कार्यमा समेत नेपाली सेना खटिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा पर्वत, म्याग्दी र बागलुङमा पहिरोका कारण अवरुद्ध सडक तथा पुल मर्मत गरी आवागमन सञ्चालनमा ल्याउने कार्य भइरहेको निर्देशनालयले जनाएको छ।

मनाङमा पनि बाढीले पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरी आवागमन सञ्चालनमा ल्याएको छ।

प्रकाशित: १९ असोज २०८३ १५:०८ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast