प्रधानमन्त्री वालेन्द्र शाह सिंहदरबारस्थित संघीय संसदमा बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै। तस्बिर : रासस
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुग्लिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध भएको सो सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।
त्रिशूली नदीको कटानका कारण सडक भासिँदा कृष्णभिरमा पहिरो खसेपछि सडक अवरुद्ध छ । सो सडकखण्ड सञ्चालनमा ल्याउन महिनौँ लाग्नसक्ने समाचारहरू आइरहेका अवस्थामा प्रधानमन्त्री शाहले आज सो जानकारी गराएका हुन्। प्रधानमन्त्री शाहले पहिरो पञ्छाएर र सडक पुनर्निर्माण गरेर यही महिनाभित्रै सञ्चालनमा ल्याइने जानकारी दिए।
उनले आज संसद्लाई भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिका बारेमा पनि जानकारी गराएका थिए।
–––


