काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा परम्परागत शैलीभन्दा डिजिटल माध्यमबाट काम भइरहेको भन्दै आफू मन्त्रालयको कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने पक्षमा नरहेको बताएका छन्।
रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीपछि त्रिशूली जलविद्युत् आयोजना-३ ‘ए’ को सुरुङमा फसेका व्यक्तिको उद्धारका क्रममा अक्सिजन सिलिन्डर बोकेको विषयमा आलोचना भएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
नेकपा एमालेका नेता ऐन महरसहित केही नेता तथा व्यक्तिले गृहमन्त्री स्वयंले अक्सिजन सिलिन्डर बोकेको विषयमा आलोचना गरेपछि गुरुङले आफू फिल्डमा उपस्थित भएर विपद् प्रतिकार्यमा सक्रिय रहेको बताएका हुन्।
उनले पुरानो शैलीमा मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने नेतृत्वलाई मात्रै नेतृत्वका रूपमा बुझ्न नहुने बताएका छन्।
‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत शताब्दीमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ, चिन्ता लिनु पर्दैन।’
गुरुङका अनुसार विपद् प्रतिकार्यका लागि कमान्ड सेन्टरबाट नियमित रूपमा रणनीतिक बैठक र समन्वय भइरहेको छ। उनले अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू गरिरहेको बताएका छन्। ‘अनलाइनबाट हामी हरेक चार घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ,’ उनले भनेका छन्।

वर्षौँदेखि फिल्डको वास्तविक अवस्था नबुझी कुर्सीबाट मात्रै नेतृत्व गर्ने शैलीका कारण अपेक्षित परिणाम आउन नसकेको उनको दाबी छ।
‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ,’ गुरुङले भनेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।’
उनले टेबल पछाडि बसेर काम गर्नुभन्दा डिजिटल माध्यमबाट काम गर्दा विपद्का बेला निर्णय र समन्वय अझ छिटो तथा प्रभावकारी हुने बताएका छन्।
‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ,’ उनले भनेका छन्, ‘त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्न चाहन्छु।’
भीषण बाढीपछि त्रिशूली जलविद्युत् आयोजना-३ ‘ए’ को सुरुङमा केही व्यक्ति फसेका थिए। सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बललगायतका सुरक्षाकर्मी परिचालित भएका थिए।
लामो समयपछि शुक्रबार सुरक्षाकर्मीले सुरुङबाट फसेका व्यक्तिलाई जीवितै उद्धार गरेका थिए। उद्धारपछि अस्पताल लैजाने क्रममा गृहमन्त्री गुरुङले अक्सिजन सिलिन्डर बोकेर सहयोग गरेको दृश्य सार्वजनिक भएपछि त्यसलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो।


