गगन र देउवा पक्षबीच संवाद र सहकार्य आजको आवश्यकता : नृप वड

हिमाल प्रेस २८ भदौ २०८३ १६:४८ | Sunday, September 13, 2026
गगन र देउवा पक्षबीच संवाद र सहकार्य आजको आवश्यकता : नृप वड

काठमाडौँ- नेपाली कांग्रेसका नेता नृप वडले पार्टीभित्र चुलिँदै गएको आन्तरिक मतभेद अन्त्यका लागि सभापति शेरबहादुर देउवा पक्ष र महामन्त्री गगन थापा पक्षबीच तत्काल उच्चस्तरीय संवाद, सहकार्य र एकता हुनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा र नेतृत्वबीचको दूरीले कार्यकर्ता तथा आम नागरिकमा निराशा छाएको उल्लेख गर्दै उनले पार्टीलाई बाह्य प्रतिस्पर्धाभन्दा पहिले आन्तरिक अविश्वास र विभाजनको मानसिकताबाट मुक्त बनाउनुपर्ने बताएका हुन्। लोकतान्त्रिक पार्टीमा फरक विचार र प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसलाई व्यक्तिगत दुश्मनीमा बदल्न नहुने उनको भनाइ छ।

नेता वडका अनुसार आज गगन पक्षसँग नयाँ पुस्ताको ऊर्जा, नयाँ सोच र परिवर्तनको अपेक्षा जोडिएको छ भने देउवा पक्षसँग लामो राजनीतिक अनुभव र योगदान रहेको छ। त्यसैले एउटा पक्षले अर्को पक्षलाई समाप्त पार्ने होइन, वरिष्ठ नेताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एक ठाउँमा जोडेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

व्यक्ति र चरित्रमाथि अनावश्यक आरोप लगाएर पार्टीलाई कमजोर बनाउनुको सट्टा नीति, विचार र कार्यक्रमका आधारमा प्रतिस्पर्धा गर्नुपर्ने उनको ठहर छ।

पार्टी सुदृढीकरणका लागि नेता वडले दुवै पक्ष सम्मिलित स्थायी संवाद संयन्त्र गठन गरी नियमित उच्चस्तरीय छलफल चलाउनुपर्ने प्रस्ताव गरेका छन्। यसैगरी गुटको सट्टा संगठनलाई प्राथमिकता दिने, योग्य र इमानदार कार्यकर्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने तथा युवालाई नेतृत्वमा आउने बाटो खुला गर्दै वरिष्ठको सम्मान कायम राख्ने सन्तुलित प्रणालीको विकास गर्नुपर्ने उनको सुझाव छ।

त्यस्तै, चुनावी वा महाधिवेशनको समयमा मात्र नभई सधैँ जनताको माझमा रहने संस्कार बसाल्न आग्रह गर्दै उनले महँगी, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र युवा पलायन जस्ता जनजीविकाका सवालमा कांग्रेसले स्पष्ट कार्ययोजना ल्याउनुपर्ने बताएका छन्।

कसले कसलाई जित्यो भन्नेभन्दा पनि कांग्रेसले जनताको विश्वास कसरी जित्ने भन्ने विषय मुख्य भएकाले एकताबद्ध कांग्रेस निर्माणमा लाग्न उनले सम्पूर्ण नेता(कार्यकर्तालाई आह्वान गरेका छन्।

प्रकाशित: २८ भदौ २०८३ १६:४८ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast