बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

हिमाल प्रेस १९ भदौ २०८३ २०:५२ | Friday, September 4, 2026
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

काठमाडौँ- रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाढीपछि पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) को आयोजनामा नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रका करिब २५ भन्दा बढी संघसंस्थाको संयुक्त बैठकले नेपालको पर्यटन पुनरुत्थानका लागि हातेमालो गरेर अगाडि बढ्ने निर्णय गरेको हो।

बैठकमा क्यूआरटीका संयोजक धमलाले संकटको घडीमा सरकार र निजी क्षेत्रले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनले विगत एक हप्तादेखि मन्त्रालय र निजी क्षेत्रबीचको समन्वय प्रभावकारी बनेको र मन्त्रीस्तरबाटै विभिन्न समस्याहरूको तत्काल समाधान खोज्ने काम भइरहेको बताए।

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा जोखिमपूर्ण क्षेत्रबाट हटाउन विश्व पर्यटन संगठनमा थप पहल गरिने बताए। यस पुनरुत्थान अभियानको मुख्य आकर्षणका रूपमा ‘लाङटाङ’ क्षेत्रलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको उनले उल्लेख गरे।

भूकम्पपछि बन्द रहेको लाङटाङ पदमार्ग र पर्यटकीय क्षेत्र खुला गर्दा विश्वभर नेपाल सुरक्षित छ र नेपालीहरू संकटसँग जुध्न सक्षम छन् भन्ने सकारात्मक सन्देश जाने विश्वास उनले व्यक्त गरे।

बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण संकलन फारमलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटल तथा रेस्टुरेन्टलगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिजम् रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरेको छ।

बैठकले लाङटाङ क्षेत्रमा चालु याममा पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलीब्रिज निर्माणका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढङ्गले प्रवाह गर्नुपर्नेमा पनि जोड दिएको नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले जानकारी दिए।

नेपालको पर्यटन अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन, पाटालगायत अन्तर्राष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष भरतजङ्ग पाण्डे, नेपाल पर्वतारोहण संघ, होटल व्यवसायी महासंघको सहभागिता थियो।

यस्तै, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, हिमालय उद्धार संघ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स, एक्सपिडिसन एसोसियसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी संघ, नेपाल पर्यटक बस व्यवसायी संघ, कैलाश अपरेटर संघ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटरका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित: १९ भदौ २०८३ २०:५२ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast