काठमाडौँ- उदयपुरको कटारी नगरपालिका ६ बाँकेटार स्थित शान्तिवनको वनबाट ११ सय २२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।
सोमबार बिहान करिब ४ बजे उक्त शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले वनभित्र खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी र गाडी नजिकै जंगलका विभिन्न स्थानमा लुकाइछिपाई राखिएको ५२ बोरा गाँजा फेला पारेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ।
गाँजासहित उदयपुरको ताप्ली गाउँपालिका ०१ डाँडागाउँ बस्ने अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, सोही स्थान बस्ने २१ वर्षीय नेकबहादुर मगर र अन्दाजी ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन् । उनीहरूलाई गाँजा र बोलेरो गाडीसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १५ भदौ २०८३ १२:४४ | Monday, August 31, 2026
प्रतिक्रिया


