काठमाडौँ- नेपालले विश्वव्यापी महिला नेतृत्वको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। जोन्टियन सिर्जना राणा क्यानडाको भ्यानकुभरमा सम्पन्न जोन्टा इन्टरनेसनलको ६७औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट सन् २०२६-२०२८ को कार्यकालका लागि जोन्टा इन्टरनेसनलको सञ्चालक समिति सदस्य एवम् निर्देशकमा निर्वाचित भएकी हुन्।
जोन्टा इन्टरनेसनल सेवा, पैरवी, शिक्षा र सहकार्यका माध्यमबाट महिला तथा बालिकाका लागि अझ राम्रो विश्व निर्माण गर्न काम गर्ने विश्वव्यापी व्यावसायिक संस्था हो।
६५ देश तथा भूभागमा १,१०० भन्दा बढी क्लब रहेको जोन्टा इन्टरनेसनलले महिला अधिकार, समानता र नेतृत्व प्रवर्द्धनका लागि विश्वव्यापी मञ्चका रूपमा काम गर्दै आएको छ।
राणाको निर्वाचन नेपाल र समग्र क्षेत्रका लागि ऐतिहासिक पहिलो उपलब्धि हो। उनी जोन्टा इन्टरनेसनलको शासकीय बोर्डमा सेवा गर्ने पहिलो नेपाली प्रतिनिधि बनेकी छन्।
होटल एसोसिएसन अफ नेपालकी पूर्वअध्यक्ष राणाले लामो समयदेखि महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक अधिकारका पक्षमा पैरवी गर्दै आएकी छन्।
राणाले भनिन्, ‘यो मेरा लागि अत्यन्तै विनम्र बनाउने सम्मान हो र सबैभन्दा माथि जोन्टा इन्टरनेसनलमार्फत विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी हो। यो उपलब्धिले युवा महिलाहरूलाई आफूमा विश्वास गर्न, साहसका साथ अघि बढ्न र तोड्न नसकिने कुनै पनि सीमा हुँदैन भन्ने विश्वास दिलाओस् भन्ने मेरो चाहना छ। जोन्टा इन्टरनेसनलको अभियानमा सेवा गर्ने, सिक्ने र योगदान गर्ने अवसर पाएकोमा म अत्यन्तै कृतज्ञ छु।’
यस उपलब्धिसँगै जोन्टा क्लब काठमाडौँले पनि अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। क्लबले लगातार दोस्रो कार्यकालका लागि ‘जोन्टा एक्सिलेन्स इन सर्भिस एन्ड एड्भोकेसी अवार्ड’ प्राप्त गरेको हो। प्रत्येक दुई वर्षमा विश्वभरबाट केवल छवटा क्लबलाई मात्र यो प्रतिष्ठित पुरस्कार प्रदान गरिन्छ।
यो सम्मान महिला तथा बालिकामाथि हुने अनलाइन तथा प्रत्यक्ष हिंसा रोकथाम र त्यसको प्रतिकार्यका लागि जोन्टा क्लब काठमाडौँले गरेको सहकार्यात्मक कार्यको कदरस्वरूप प्रदान गरिएको हो। क्लबले नेपाल प्रहरी, नेपाल प्रहरीको साइबर ब्युरो, कानुनी क्षेत्रका विज्ञ, स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र तथा शैक्षिक संस्थासँगको सहकार्यमा यस्तो अभियान सञ्चालन गर्दै आएको छ।
राणाको निर्वाचन र जोन्टा क्लब काठमाडौँको अन्तर्राष्ट्रिय सम्मानले नेपालका लागि महत्त्वपूर्ण क्षणको प्रतिनिधित्व गरेको छ। यी उपलब्धिले विश्वव्यापी नेतृत्व, महिला अधिकारको पैरवी तथा सामाजिक परिवर्तनमा नेपाली महिलाको बढ्दो योगदानलाई उजागर गरेका छन्।


